किरियापुत्री भवन निर्माण

सांकेतिक तस्बिर

नागार्जुन नगरपालिका–५ स्थित आदेश्वर दक्ष्य कुण्डमा किरियापुत्री आवासीय भवन निर्माण गरिएको छ। 

नगरपालिकाको रु ५० लाख लागतमा छ कोठे किरियापुत्री आवासीय भवन निर्माण गरिएको वडाध्यक्ष महेश रिमालले बताए।

यहाँका किरियापुत्रीलाई बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको हो। यस क्षेत्रमा किरियापुत्रीका लागि छुट्टै भवन नहुँदा घर भाडा बस्नेलाई काजकिरिया गर्न समस्या परेको थियो। 

यस्तै नागार्जुन नगरपालिका–५ स्थित आदेश्वरमा धार्मिक तथा ऐतिहासिक महत्व बाकेको आदेश्वर उद्यानको निर्माण भइरहेको छ।

 नगरपालिकाको रु ५० लाखको लागतमा उक्त उद्यानको निर्माण शुरु गरिएको वडाध्यक्ष रिमालले जानकारी दिए। उनका अनुसार सो उद्यानभित्र स्थानीय ऐतिहासिक तथा धार्मिक महत्व झल्किने वस्तु राखिनेछ।

करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्यान निर्माण भएपछि वृद्धवृद्धा, बालबालिका र मुख्यगरी धार्मिक आस्था भएका बढी मात्रामा लाभान्वित हुने बताइएको छ।

 उद्यानमा हरियाली वातावरणसँगै वनभोजस्थल, स–साना कार्यक्रम आयोजना गर्न डबली, मन्दिर/स्मारक, बालबालिकाका लागि चिप्लेटी निर्माण गरिनेछ। आदेश्वर मन्दिरको नामबाट उक्त उद्यानको नाम आदेश्वर उद्यान राखिएको हो।

स्वस्थानीमा उल्लेख भएअनुसार सतीदेवीको आधा शरीर पतन भएको र महादेव उत्पन्न भएको विश्वासमा उक्त स्थानमा आदेश्वर महादेवको मन्दिर स्थापना गरी पूजा गर्न थालिएको हो। पुरानो तथा पुरातात्विक महत्व बोकेको उक्त मन्दिरमा हरेक सोमबार भक्तजनको भीड लाग्ने गर्छ। रासस 

प्रकाशित मिति: : 2020-12-22 11:57:00

प्रतिकृया दिनुहोस्