राउटेकाे भत्ता बढेर पाँच हजार

फाइल तस्वीर:सुर्खेतका राउटेहरु, रासस
फाइल तस्वीर:सुर्खेतका राउटेहरु, रासस

नेपाल सरकारबाट मासिक तीन हजार भत्ता पाउँदै आएका राउटेहरुलाई कर्णाली सरकारले मासिक दुई हजार थपिदिने निर्णय गरेकाे छ।

लोपोन्मुख राउटे जातिको संरक्षण र सम्वर्द्धन गर्न प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ दिने निर्णय भएकाे प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।

नेपाल सरकारले दैलेखको गुराँस गाउँपालिकालाई उक्त रकम पठाउने गरेको थियाे। कर्णालीकाे मन्त्रिपरिषद्ले  निर्णय गरेपछि थपिएको भत्ता आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत दैलेखको गुराँस गाउँपालिकामै पठाइनेछ।

दैलेखको गुराँस गाउँपालिकाले राउटेहरुलाई स्थायी परिचयपत्र दिएको छ। हाल सुर्खेत र दैलेखका विभिन्न भागमा बस्ती बस्ने राउटेहरुलाई गाउँपालिकाले दिएको परिचयपत्र जन्मदर्ता परिचयपत्र जस्तै भएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए।

‘हामीले उनीहरुलाई स्थायी परिचयपत्र दिएका छौं। राउटे नेपालको जुनसुकै ठाउँमा गएर बसेपनि हाम्रा नागरिक हुन्,’ उनले भने, ‘आगामी फागुन वा चैतसम्म हामी उनीहरुलाई नागरिकता पनि वितरण गर्छौं।’

राउटे समुदायकाे बस्ती हाल सुर्खेतको चिङ्गाड गाउँपालिका–५ हलेदीमा बसिरहेकाे छ। ४५ परिवार रहेको यो समुदायमा १४५ जना सदस्य छन्।

प्रकाशित मिति: : 2020-12-23 09:22:00

प्रतिकृया दिनुहोस्