जाडोको मौसम, भक्काको व्यापार [भिडियाे]

विहानीको कठ्याङग्रिदो जाडोमा चाहमती राजवंशी मानिसको चहलपहल बाक्लिसक्दा नसक्दै चुल्हो र केही भाँडाकुँडा लिएर पुगिसक्छिन्, उर्लाबारी चोक।

जाडो मौसममा लोकप्रिय खाजाको भक्काको व्यापार गर्न उनी दैनिक  सडक छेउमा चोक पुग्छिन्। यसरी पुस–माघको जाडोमा उनले भक्का बनाएर बेच्ने थालेको १५ वर्ष जति भयो। 

चाहमती जस्तै उर्लाबारीमा एक दर्जन बढि महिलाहरुले चिसो मौसममा भक्काको व्यापार गरिरहेका छन्। 

झिसमिसैदेखि बिहान १० बजेसम्म व्यापार गर्दा १५ सयदेखि २ हजारसम्मको नाफा हुने गरेकाे उनीहरु सुनाउँछन्।

यही व्यापारबाट उनीहरुकाे घर खर्च चलेको छ। 

साँझ ढिकमा पिठो कुट्ने र बिहान चोकमा भक्का बनाएर बेच्ने गरेको चाहमतीले बताइन्। एउटा भक्कालाई १० रुपैयाँ पर्छ। 

भक्का चामलको पिठोबाट बनाइने परिकार हो। यो पानीको बाफबाट पकाइन्छ। विशेषगरी यो परिकार तराइमा जाडो मौसममा बिहानको खाजाको रूपमा खाइन्छ। कसैले किनेर लगेर घरमै खान्छन् भने कसैले चुल्हो बलिरहेकै ठाउँमा। 

झापा गौरादहका सन्तोष बिष्ट स्वास्थ्यवद्र्धक रहेको भन्दै बिहानीको खाजाको रुपमा भक्का खान रुचाउछन्। राजवंशी महिलाहरुले बनाएको भक्का र त्यसमा हालेर खाइने अचार र तरकारी कम्ता मिठो हुन्न। यसको अस्ली टेस्ट थाहा पाउन त भक्का खानै पर्छ। 

तातै खाँदा स्वाद लाग्ने, पचाउन सजिलो र शरीर न्यानो रहने हुनाले जाडोमा भक्का रुचाइने गरिएको बिष्टको भनाइ छ।

यतिबेला पूर्वका आदिवासीको मौलिक परिकार रूपमा परिचित ‘भक्का’को अधिकांश ठूला तथा साना बजारमा व्यापार निकै फस्टाएको छ।

चिसो मौसम शुरु भएसँगै ग्रामीण क्षेत्रको बजार होस् वा पूर्व–पश्चिम राजमार्गसँग जोडिएका चाेक र बजार, भक्का नपाउने ठाँउ नै छैन्। 

राजवंशी समुदायले घरघरमा खाजाको रूपमा चामलको पिठोबाट बनाउने भक्का पछिल्लो समय तराइका जिल्ला हुँदै इलाम, पाँचथरलगायतका पहाडी जिल्लामा समेत बनाइने गरिन्छ। हाल यो खाजाको व्यापार काठमाडाैंको केही ठाउँमा समेत फैलिसकेको छ।

सडकका किनारामा बनाइने भक्काका लागि छुट्टै भाडा तिर्नु नपार्दा व्यापारीको रकमसमेत बच्ने गरेको छ। बिहान बेलुका खाजाका रूपमा खाइने भक्काको व्यापारबाट घरखर्च तथा नानी पढाउन समेत सहयोग पुग्ने गरेको दमककी कन्चला राजवंशीको भनाइ छ।

‘भक्का बेचेको आम्दानीले नै पाँच जनाको परिवारको गुजारा चलेको छ,’ उनले भनिन्, ‘भक्का बेचेर दैनिक एक हजारभन्दा बढी नाफा हुने गरेको छ।’

जाडो मौसममा मात्र बनाइने भक्काको मौसमी व्यापार हुने गरेको छ। पहाडी जिल्लाका गाउँमा ऐले पनि भक्का बनाउने र खाने चलन छैन। तर शहर बजारका गल्ली तथा चोकमा भक्काको व्यापार फस्टाउने गरेको छ। 

जाडो मौसममा चोक तथा गल्लीमा बसेर भक्का बनाउँदा शरीरलाई न्यानोसमेत हुने र केही रकम पनि बच्ने भएपछि महिलाहरू भक्का बेचेर नै गुजारा चलाउने गरेका छन्। भक्का बालबालिका, युवायुवती र वृद्धवृद्धा सबैले रुचाएर खाने गरेका छन्।

 भक्का खान विद्यार्थीदेखि बटुवासम्म अचार, नुन तरकारी वा चिनीसँग त्यसको तात्तातो स्वाद लिइरहेका सडकमा देख्न सकिन्छ।

प्रकाशित मिति: : 2021-12-22 06:00:00

प्रतिकृया दिनुहोस्