घर भत्काएपछि नेकपामा चटारो

बाह्रखरी

काठमाडाैं

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेकै अवस्थामा दुई फ्याक भएको नेकपालाई अहिले भ्याइनभ्याइ छ । बिहीबार बबरमहलस्थित कार्की पार्टी प्यालेस र प्रधानमन्त्री निवास बालुवाटारमा दुवैतिर दुवै समूहका केन्द्रीय कमिटी बैठक बसे । यसअघि २१ महिनासम्म केन्द्रीय कमिटीको बैठक बस्न सकेको थिएन । तीन महिनामा बोलाउनुपर्ने स्थायी कमिटीको बैठक बस्‍न झन्डै एक वर्ष लागेको थियो । 

विभाजनपछि दुई दिनकै अन्तरालमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले दुईपटक केन्द्रीय कमिटीको बैठक, सातै प्रदेशको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । पुष्पकमल दाहाल र माधव नेपाल समूहले दुईपटक केन्द्रीय कमिटी र दुईपटक नै स्थायी कमिटीको बैठक सकिइसकेको छ । 

पार्टी दुई टुक्रा भएर कानुनी मान्यता पाउन बाँकी रहँदा नेकपामा ओहोरदोहोर तीव्र भएका छन् । दुवैतिर फकाउने र धम्क्याउने क्रम पनि बढेको  छ । सत्ताको नेतृत्वको गरिरहेकाको प्रधानमन्त्री केपी शर्मा ओली समूहले पद देखाएर लोभ्याउने बहुमत आफूसँग जिकिर गरिरहेको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले संसद् पुनर्स्थापना गराइ छाड्ने बाटो देखाएर दुवैतिर आकर्षित हुने क्रम पनि छ ।

कार्की पार्टी प्यालेस परिसरमा भेटिएका प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले ओलीको कदमलाई भूकम्पसँग दाँज्छन् । नेकपाको ७० वर्ष लामो कम्युनिस्ट आन्दोलनलाई धूलिसात तुल्याउने योजनाका साथ प्रधानमन्त्री ओलीले भैँचालो ल्याएको र यसले हुँदाखाँदाको नेकपारूपी घर खण्डहर बन्न पुगेको टिप्पणी थियो ।

“भूकम्पले हामी बसेको घर भत्काइदियो । यत्रो मिहिनेतले खडा गरेको घर भत्किँदा दुःख अवश्य लाग्छ । आँसु पनि झर्छ । परन्तु रोएर बसिरहने सुविधा हामीलाई छैन,” उनले थपे “फेरि अर्को घर बनाउनुपर्छ । हामी त्यही सोचका साथ अघि बढेका छौँ ।”

प्रकाशित मिति: : 2020-12-24 21:50:00

प्रतिकृया दिनुहोस्