प्रधानमन्त्री ओली आजै मन्त्रिमण्डल हेरफेरको तयारीमा, टोपबहादुर रायमाझी र प्रभु साह मन्त्री हुने पक्का

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त पाँच जना मन्त्री थप गर्ने गृहकार्य कार्य गरेका छन् । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार, संभवतः आजै साँझसम्म मन्त्रिमण्डलमा मन्त्रीहरु थपिने छन् ।

मन्त्रीहरुको नाम भने अझै टुंगो लागि नसकेको स्रोतले जनाएको छ । साविक माओवादीका तर्फबाट टोपबहादुर रायमाझी उर्जामन्त्री हुने लगभग निश्चित भएको स्रोतले जनाएको छ । त्यसै गरी, साविक माओवादीका प्रभु साह पनि मन्त्री बन्ने स्रोतले जानकारी दियो । सात–आठ जना नयाँ मन्त्री हुने संभावना रहेको छ ।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सात जना मन्त्रीहरुले राजीनामा गरेका थिए । राजीनामा गर्नेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पाेखरेल, श्रममन्त्री रामेश्वर राय यादव, वनमन्त्री शक्ति बस्नेत र खानेपानीमन्त्री वीना मगरले राजीनामा गरेका थिए । ती सातै वटा मन्त्रालय रिक्त छन् । 

चुनावी सरकार भएकाले अरु मन्त्रीहरु हेरफेर गर्ने संभावना कम रहेकाे प्रधानमन्त्री निकट स्राेतले जनाएको छ । साविक माओवादीबाट को–को मन्त्री हुने भन्ने टुंगो लाग्न बाँकी रहेको छ । आज बेलुकासम्म नाम घोषणा हुने र सकेसम्म आजै सपथग्रहण गर्ने तयारी छ । नभ्याएमा भोलिसम्म सपथग्रहण गराइने छ ।

प्रकाशित मिति: : 2020-12-25 16:47:00

प्रतिकृया दिनुहोस्