एचआइडिसिएल धराशायी : १६ अर्ब लगानी तर शून्य प्रतिफल, जताततै व्यवस्थापनको बदमासी

नेपाल लाइभ

काठमाडौँ

 सविन मिश्र

आन्तरिक सुशासन र व्यवस्थापनमा देखिएको कमजोरीले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) धराशायी हुन थालेको छ। व्यवस्थापनले कम्पनीको हिसाब गोलमाल गर्नेदेखि दोस्रो बजार प्रभावित गरी लगानीकर्तालाई झुक्याउने काम गरेको पाइएको छ।

सरकारले सेयर लगानी गर्न दिएको पैसा बैंकमा राख्दा प्राप्त भएको ब्याजबाट विगतमा लाभांश वितरण गरेको एचआइडिसिएल यो वर्ष प्रतिफल दिन नसक्ने अवस्थामा पुगेको छ। स्थापना भएको १० वर्ष हुन लाग्दा दुईपटक ५/५ प्रतिशत तथा एकपटक १० र गत वर्ष १२ प्रतिशत लाभांश दिएको कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ। तर यसपटक करिब ३ लाख सर्वसाधारण लगानीकर्ता र संस्थापक सेयरधनीले कुनै लाभांश पाउने छैनन्। वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी १६ अर्ब ५० करोड रूपैयाँ छ। 

जलविद्युतको लगानी र विकासका लागि स्वपुँजी लगानी (इक्विटी इन्भेस्टमेन्ट) गर्ने उद्देश्यसहित सरकारको ५० प्रतिशत, कर्मचारी सञ्चय कोष, नगरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको १०/१० प्रतिशत तथा सर्वसाधारणको २० प्रतिशत लगानी रहेको कम्पनीले असोज मसान्तसम्ममा जलविद्युत आयोजनाहरूको सेयरमा जम्मा ७१ करोड रूपैयाँ मात्रै लगानी छ। 

जलविद्युत क्षेत्रमा स्वपुँजी लगानी गर्न भेन्चर क्यापिटलको रूपमा यो कम्पनी खुलेको थियो। तर कम्पनीले भएको पैसा मुद्दति निक्षेपमा राख्ने र केही ऋण लगानी गरिरहेको छ। 'करिब १८ अर्ब रूपैयाँ तरलता भएको कम्पनीले १२ अर्ब ९० रूपैयाँ मुद्दति निक्षेपमा राखेको छ, त्यसैबाट प्राप्त ब्याजले विगतमा लाभांश दिएको देखिए पनि योपटक शून्य भयो,' स्रोतले भन्यो। 

प्रकाशित मिति: : 2020-12-28 16:38:00

प्रतिकृया दिनुहोस्