हिलोको किलो बन्दै काँग्रेस : दोधारे राजनीतिले गुमाउँदै हैसियत (टिप्पणी)

पहिलोपोष्ट

काठमाडौँ

ऋषिकेश दाहाल

कुनै बेला निर्णय लिन नसक्ने पार्टीका रुपमा स्थापित थियो नेकपा एमाले। वामपन्थी नेता चित्रबहादुर केसीले एमालेको ढुलमुले चरित्रलाई लिएर भनेका थिए - एमाले भनेको हिलोको किलो भएको छ। कहिले यता ढल्किन्छ कहिले उता।

नेता केसीको त्यो अभिव्यक्ति यतिखेर ठ्याक्कै नेपाली काँग्रेसमा लागू हुन्छ। पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व चित्रबहादुर केसीले भनेको हिलोको किलो बनिरहेको छ। काँग्रेसका नेताहरु देउवा झै लरबरिन थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा हत्या गर्ने निर्णय र त्यसलाई रबर स्ट्याम्पका हैसियतमा सदर गर्ने राष्ट्रपतिको कदमविरुद्ध नेपाली काँग्रेसको बोली परस्पर बाझिनेखालको छ। प्रधानमन्त्री ओलीको हठ मुलुकको स्थायित्वमाथि कुठाराघात सावित भइसकेको छ। नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादमा समग्र मुलुकलाई मुछेर उनले आफ्नै समृद्धिको नारा कुल्चिएका छन्। ओलीका अहमताले भरिएका निर्णयहरुमाथि निरीह र लाचार भएर बसेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूह ढिलो गरी विद्रोहमा उत्रिएको छ। ओलीलाई समयमा नै काबुमा राख्न सकेको भए संविधानमाथिको उदण्डताको स्थिति नेपाली जनताले बेहोर्न पर्ने थिएन।

प्रधानमन्त्री बन्न कार्यकालको भागवण्डा गर्दै एक भएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ताको लुछाचुडीको असर पार्टी विभाजन अप्रत्यासित होइन। स्वार्थले जुटेको गठबन्धनको गाँठो कुनै बेला फुस्किनु नै थियो। तर, यो फुटको संघारमा नेपाली काँग्रेस निर्णयहीन भएर मझधारमा उभिएको छ। मुलुकको अराजनीतिक कदमलाई अदालतको व्याख्या कुर्नु आफैँमा विचारहीनताबाट गुज्रिनु हो। विभाजनको बाटोमा हिँडेको नेकपामा जुन स्वार्थ केन्द्रित चरित्र छ, यतिखेर नेपाली काँग्रेसभित्र पनि तिनै तत्वहरु प्रभावी बन्दै गइरहेका छन्। प्रधानमन्त्री ओलीको प्रमुख प्रतिक्षी दलका नेता देउवासँगको सानिध्यता स्थापित हुँदै गइरहेको छ। ओली सत्ताको दासका रुपमा काँग्रेसले आफ्नो पहिचान बनाउने हो भने बेग्लै, अन्यथा सरकारको कदमको विरोधमा उत्रिनुको विकल्प थिएन। तर, दुर्भाग्य काँग्रेस आफैँमा रुमलिइरहेको छ।

प्रकाशित मिति: : 2020-12-29 12:39:00

प्रतिकृया दिनुहोस्