प्रधानमन्त्री ओलीलाई संसद विघटनको अधिकार छैन: सभामुख सापकाेटा

बिएल संवाददाता

काठमाडाै‌ं

सभामुख अग्नि सापकोटाले अहिलेकै अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनको अधिकार नभएको बताएका छन्। 

नेकपा (प्रचण्ड)को अनेमसंघ, कांग्रेस सम्बद्ध अनेमसंघ, जनता समाजवादी सम्बद्ध समसंघ र विवेकशिल साझा पार्टी सम्बद्ध विसामको संयुक्त ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताए। 

‘हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन,’ सभामुख सापकोटाले भने,‘मैले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको छु र म अदालतमा पनि त्यहीअनुसारको प्रतिउत्तर दिँदै छु।’

संविधानको रक्षा तथा देश र जनताको अधिकतम हितमा सधैं समर्पित हुने पनि उनले बताए। 

सापकोटाले भने, ‘अहिले सभामुखको जिम्मेवारीको हिसाबले मेरो भूमिका के हुन्छ, संविधानको रक्षाका लागि, समग्र परिस्थितिमा मैले कसरी भूमिका खेल्न सक्छु, जनताको अधिकतम हितका लागि के भूमिका खेल्नुपर्छ भनेर मैले राष्ट्रका सम्बद्ध पक्षसँग वृहत, व्यापक परामर्श राय सल्लाह सुझाव लिइरहेको छु।’

प्रकाशित मिति: : 2020-12-31 14:10:00

प्रतिकृया दिनुहोस्