प्रधानमन्त्री ओली अर्काे झुट: नेकपा (प्रचण्ड)ले आधिकारिकताका लागि दिएको निवेदन फिर्ता भएकाे छैन

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी केपी शर्मा ओलीले नेकपा (प्रचण्ड)ले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको दावी गरेका छन्।

शुक्रबार प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई जुममार्फत सम्बोधन गर्दै नेकपामा आएको विवादपछि आधिकारिकताका लागि दिएको निवेदन आयोगले फिर्ता पठाइदिएको दावी गरेका हुन्।

‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो, तर आयोगले हिजो निवेदनको रित नपुगेको, कानून उल्लेख नभएको, फिर्ता पठाएको छ’, प्रधानमन्त्री ओलीले भने। 

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि दुई पक्षमा विभाजन भएको नेकपाले आफ्नो आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।

उनले सूर्य चिन्ह र नेकपा पनि आफ्नै समूहको हुने दावी गरे। ‘सूर्य चिन्ह २०४८ देखि हाम्रो हो, एक दुई जना मान्छे छोड्दैमा सूर्य कहिँ जाँदैन। सूर्य चिन्ह हामीसँगै छ, बहुमत हामीसँगै छ,’ ओलीले भने।

पार्टी विभाजनअघि नेकपामा प्रचण्ड-नेपाल समूहसँग स्पष्ट बहुमत थियो। पार्टी विभाजनसँगै प्रचण्ड-नेपाल समूहमा गएकाको संख्या पनि प्रधानमन्त्री ओलीको पक्षमा भन्दा बढी छ। 

यता निर्वाचन आयोगले भने प्रधानमन्त्री ओलीले दिएको अभिब्यक्ति खण्डन गरेको छ। 

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिएलसँग भने– ‘दर्ता भएको निवेदन फिर्ता हुँदैन। आयोगमा आएर दर्ता भएको चिज रहिरहन्छ। त्यसमाथि छानविन भइरहेको आयोगले जनाएको छ।’ 

प्रकाशित मिति: : 2021-01-01 14:12:00

प्रतिकृया दिनुहोस्