कांग्रेसको निर्णय : अबको आन्दोलन प्रधानमन्त्री ओली लक्षित

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेसले दोस्रो चरणको देशव्यापी आन्दोलन घोषणा गरेको छ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पुस २५ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो। 

केन्द्रीय समिति बैठकले पुष २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने, माघ ८ गते स्थानीय तहको ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

‘सडकमा जानुपर्ने सबैको धारणा रह्यो,’उनले भने, ‘अब संसद पुनस्र्थापना भएपनि नभएपनि आन्दोलनमा जानुपर्छ भन्नेमा सबै नेताहरुको एक मत रह्यो।’

जिल्ला समितिले आफ्नो अनुकुलतामा तथा पार्टीका भातृ तथा सुभेच्छुक संगठनहरुले आ(आफ्नो आवश्यकता र अनुकुलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ।

कांग्रेसले आफ्नो भातृ संगठन र पार्टीलाई आन्दोलनमा केन्द्रित पनि गरेको छ।

त्यसैगरी बैठकले २०७५ कार्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरुको समायोजनको निम्ति बनाइएको समायोजन समितिले तयार पारेको प्रतिवेदन बैठकले अनुमोदन गरेको पनि प्रवक्ता शर्माले बताए।

बैठकले क्रियाशिल सदस्यता विवरण २०७७ माघ मशान्तसम्म गरिसक्ने मिति तय पनि गरेको प्रवक्ता शर्माले बताए। कांग्रेसको अर्को बैठक पुस २७ गते बस्नेछ।


 

प्रकाशित मिति: : 2021-01-03 18:54:00

प्रतिकृया दिनुहोस्