प्रवासी नेता भन्छन्– मुम्बईमा बिरामी भेटिए, प्रचण्ड भेटिएनन्

पूर्वप्रधानमन्त्री तथा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला मुम्बईमा छन्। उनी श्रीमती सीता दाहालको उपचारका लागि छोरी रेणु दाहाल र गंगा दाहालको साथमा यहाँ आएका हुन्।

देशको पछिल्लो बिग्रदो राजनीतिक घटनाक्रमको समयमा अध्यक्ष प्रचण्ड मुम्बई आउँदा भने अनेकन ढंगले अर्थपूर्ण मानिएको छ। यद्यपि प्रचण्ड श्रीमती सीताको नबी मुम्बईस्थित ‘न्युरोजिन ब्रेन एण्ड स्पाइनल इन्टिच्युट’मा उपचार भइरहेको छ।

प्रचण्ड यसपटक मुम्बईमा खुलेका छैनन्। यसअघि पटकपटक यहाँ आउँदा भारतीय सहकर्मीसँग भेटघाट गर्ने उनी यतिबेला मुम्बईमा हुँदा समेत गुमनाम छन्।

प्रचण्ड भूमिगत कालमा बेलाबेला मुम्बई, पुणे, सुरत, वापी (गुजरात)  आउने र जाने गरेको उनका पुराना सहकर्मीले बिएल हिन्दी सेवालाई जानकारी दिएका छन्। 

मुम्बईस्थित न्युरोजिन ब्रेन एण्ड स्पाइनल इन्टिच्युटमा कार्यरत नेपालीलाई समेत यसबारे कुनै सुईको छैन।

‘युद्धको कठिन समयमा पनि यहाँ आउँदा हामीसँग भेटवार्ता गर्ने कमरेड प्रचण्ड अहिले बम्बै आएको न्यूज पढेर थाहा पाएँ। तर, कहाँ हुनुहुन्छ, हामीलाई जानकारी छैन,’ अखिल भारत नेपाली एकता मञ्चका एक नेताले बिएल हिन्दी सेवासँग भने। 

उनी भूमिगत समय र शान्ति प्रक्रियापछि पनि पार्टी निकट प्रवासी संगठन मञ्चले भारतका विभिन्न ठाउँमा आयोजना गरेका कार्यक्रममा थुप्रै पटकसँगै हिड्ने मध्येका एक हुन्।

प्रचण्ड परिवार मुम्बई हुँदा प्रवासमा खटिएर संगठन निर्माणमा लागेका नेताहरुलाई कहाँ छन्, कता छन् भन्नेसम्म जानकारी छैन। उनीहरू सीताको उपचार दिल्लीमा भइरहेको भ्रममा थिए।  

प्रचण्ड स्वर्गीय पुत्री ज्ञानुको उपचारमा करिब ३ वर्षसम्म मुम्बईमै सहयोग गरेका प्रवासी नेता भन्छन्,‘अध्यक्ष कमरेड यहाँ भएको संगठनलाई पत्तो छैन। यदि, आएको भएपनि संगठनको काममा होइन। सीता कमरेडको उपचारका लागि आउनुभएको होला, ठिकै छ नि।’

अखिल भारत नेपाली एकता मञ्च भारतका अध्यक्ष ईश्वरी भण्डारीले पनि आफूले अस्पतालमा पुगेर बिरामी भेटेको तर, प्रचण्डसँग भने भेट नभएको बताए। उनले भने,‘म अस्पताल पुगेर बिरामीलाई भेटेर फर्किएको हुँ। तर, त्यहाँ पुग्दा अध्यक्ष कमरेडसँग मेरो भेट हुन सकेन। सायद, व्यस्त हुनुहुन्थ्यो होला। भेट नभएपनि प्रचण्ड कमरेडसँग फोनमा कुराकानी भइरहेको छ।’

प्रचण्ड श्रीमतीको उपचारसँगै उच्चस्तरीय भारतीय राजनीतिज्ञसँग भेटघाट र परामर्श गर्न चाहन्छन्। तर, अहिलेसम्म त्यो संयोग जुट्न सकेको छैन। प्रचण्डले महाराष्ट्रका गर्भनर तथा सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) पूर्व उपाध्यक्ष भगतसिंह खोसियारीसँग भेटका लागि अनुरोध गरेको समाचार बिएल हिन्दी सेवाले बिहिबार प्रकाशित गरिसकेको छ। 

बिएल हिन्दी सेवाका अनुसार खोसियारीले मुम्बई आएका प्रचण्डसँग भेटघाट गर्न अस्वीकार गरेका छन्। स्रोत भन्छ,‘प्रचण्ड भारतका लागि नेपाली दूतावास दिल्लीमार्फत् कूटनैतिक ढंगले भारतीय राजनीतिज्ञहरुसँग भेटवार्ता गर्ने पक्षमा छैनन्।’

प्रकाशित मिति: : 2021-01-08 12:59:00

प्रतिकृया दिनुहोस्