‘हात जोडेर भन्न चाहन्छु, देशद्रोही तत्वलाई गाउँगाउँबाटै ठेगान लगाउनुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीले खराब तत्वलाई तलैबाट ठेगान लगाएर पठाउन आग्रह गरेका छन्।  

नेकपा (ओली)ले कैलालीको धनगढीमा आयोजना गरेको आमसभालाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम नगर्ने तत्वलाई परास्त गर्न आग्रह गरेका हुन्। 

‘हात जोडेर भन्न चाहन्छु, देशद्रोही तत्वलाई गाउँगाउँबाटै ठेगान लगाउनुस्, तिनलाई भोट नहाले पुग्छ,’ उनले भने। 

प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने दाबी पनि गरे। 

‘कतिपयले ओलीले चुनाव गर्दैन भनेका छन्, तर दोहोर्‍याएर होइन तेहेर्‍याएर भन्न चाहन्छु वैशाख १७ र २७ गते नै चुनाव हुन्छ,’ ओलीले भने।’ 

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहमा केन्द्रीय समितिको बैठकमा नआएर भगेको पनि उनले आरोप लगाए।  

‘पार्टी छाडेका केही भगौडाका कुरा सुन्नुभएको होला, केन्द्रीय कमिटीको बैठकमा नआएर बाटामा बसेर यहाँ छौं भनेका छन्,’ उनले भने। 

प्रधानमन्त्री ओलीले नेकपा (प्रचण्ड)का कार्यकर्ताले विरोध सभामा अश्लील नारा लागेप्रति पनि दुखेसो गरेका छन्। 

प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्ड र माधव नेपाल अगाडि लागेको जुलुसमा अश्लील गाली गलौजका नारा लाग्छन्, उहाँहरूका नेता भनिएका मानिसहरू गालीगजौल गरेर हिँडेरहेका छन्, हामीलाई त्यसो गर्ने फुर्सद छैन ।’

उनले भीम रावललाई हटाएपछि प्रदेशको विकासको समस्या समाधान भएको दाबीसमेत गरे। 

‘यस प्रदेशको विकासको समस्या हुन् ती मान्छे, अब त्यो समस्या समाधान भएको छ । जीवन शर्माले गीतमा गाएजस्तै हो, पिलो निचोरिँदैमा ओजन घटेको हुँदैन,’ ओलीले भने । 

उनले रावलको नामै नलिई रावलमाथिको कारवाहीले समस्या समाधानको मार्ग प्रशस्त गरेको बताए। 

प्रकाशित मिति: : 2021-01-08 15:55:00

प्रतिकृया दिनुहोस्