अनेरास्ववियूका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई बुझाए विरोध पत्र

नेकपा (प्रचण्ड)तर्फ लागेका अखिल नेपाल स्वतन्त्र विद्यार्थी य्नियन पर्सा (अनेरास्ववियू) का विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएका छन्। 

प्रधानमन्त्री ओलीले असंवैधानिक र स्वेच्छाकारी ढंगबाट प्रतिनिधिसभा विघटन गर्दै देश र जनताको भविष्यलाई सङ्कटतर्फ धकेलेको भन्दै विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई नै विरोध पत्र बुझाएका हुन्।

समूहको तर्फबाट जिल्ला संयोजक रामबाबु यादवको नेतृत्वमा गएको विद्यार्थी नेताहरुको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत विरोध पत्र बुझाएका हुन्। 

जिल्ला प्रशासन कार्यालय पर्सा पुगेको टोलीले प्रजिअ आस्मान तामाङलाई ज्ञापन पत्र बुझाएको थियो।

प्रधानमन्त्री ओलीले दम्भ र अहङ्कारका साथ् गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक, अराजनैतिक र अलोकतान्त्रिकसँगसँगै लहडी र बदनियतपूर्वक रहेको विद्यार्थी नेताहरुको आरोप छ। 

उनीहरुले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनको निर्णयलाई खारेज गर्न माग समेत गरेका छन्।

विरोध पत्रमार्फत उनीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध देशभर भइरहेको विरोध प्रदर्शन र सभाहरुमा प्रदर्शनकारीलाई धम्क्याउने, तर्साउँने र धरपकट नगर्न चेतावनी दिएका छन्। 

ज्ञापन पत्र बुझाउने टोलीमा नेकपा (प्रचण्ड) समूहतर्फबाट अनेरास्ववियूको केन्द्रीय सदस्य प्रभाकर गुप्ता, शिवम साहलगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2021-01-08 16:50:00

प्रतिकृया दिनुहोस्