सरकार नै पार्टीको काममा

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- नेकपा विभाजन भएपछि कामचलाउ सरकारका प्रधानमन्त्री र मन्त्रीहरु पार्टीको संगठन विस्तार र प्रशिक्षणमा व्यस्त हुन थालेका छन्। पुस १० मा १३ औं पटक मन्त्रिपरिषद् विस्तार गरिएपछि मन्त्रीहरु पार्टी निर्माणमा खटिएका हुन्। त्यसका लागि उनीहरु देश दौडाहमा निस्किएका छन्। यस्ता कार्यक्रमको मुख्य प्रयोजन नेता कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउनु देखिन्छ।

मन्त्रीहरु मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओली समेत पार्टी काममा व्यस्त देखिन्छन्। पछिल्ला केही हप्ता उनी पार्टी काममा अत्यन्तै सक्रिय भएका छन्। पार्टीमा केन्द्रीय सदस्य थप्नेदेखि आफू पक्षका भेलालाई सम्बोधन गर्ने सम्मका काममा उनी व्यस्त छन्। उनी शुक्रबार मात्रै आफू पक्षको सभालाई सम्बोधन गर्न धनगढी पुगे।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लगाउने प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रीहरुलाई पार्टी समृद्ध बनाउन खटाएको भन्दै आलोचना भइरहेका छन्। तर, न ओली रोकिएका छन्, न मन्त्रीहरु नै। केही दिनयता उनीहरुको भ्रमण र भाषण सम्पूर्ण रुपमा पार्टीकै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षको आलोचना गर्न केन्द्रित हुने गरेका छन्।

प्रधानमन्त्रीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा अनौपचारिक रुपमा विभाजित भइसकेको छ। त्यसयता पार्टीका छुट्टाछुट्टै बैठक, भेला र प्रशिक्षणहरु चलिरहेका छन्। एक अर्कालाई कारबाहीको शृंखला तीव्र भएका छन्। त्यसमा प्रधानमन्त्री र मन्त्रीहरुले नै नेतृत्व गरिरहेका छन्। नवनियुक्त मन्त्रीहरु समेत मन्त्रालयको काम र परिस्थिति बुझ्नभन्दा देशका विभिन्न ठाउँमा पुगेर गाली गलौजमा उत्रिरहेका छन्।

प्रकाशित मिति: : 2021-01-08 17:45:00

प्रतिकृया दिनुहोस्