प्रधानमन्त्री ओलीले भने– रानीपोखरी र धरहरा बनायाैं, लिम्पियाधुरासहितको नक्सा छाप्याैं (भिडियो)

बिएल संवाददाता

काठमाडाै‌ं

 प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अहिले अभूतपूर्व काम भएको दाबी गरेका छन्। 

राष्ट्रिय सभा बैठकमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘उनले तराई–मधेशदेखि पहाडसम्म सरकारले धेरै विकास गरेका छौं। सडक निर्माणदेखि गरिबहरुलाई घर बनाउनेसम्मका काम सरकारले गरेको छौं।’

उनले विद्यार्थी भर्नादेखि पुनर्निर्माणसम्म धेरै काम गरेको उल्लेख गर्दै रानीपोखरी र धरहरा निर्माणसम्म काम आफ्नो नेतृत्वमा भएको दावी गरे।

उनले दोधारा–चाँदनीमा पानी दिने, शारदा बाँध र पञ्चेश्वर सम्झौताबारे हालै भारतमा भएको सहमति देशका लागि ऐतिहासिक भएको दाबी समेत गरे। 

उनले पञ्चेश्वर कार्यान्वयनको काम पनि धेरै टुंगिएको बताउँदै बाँकी विषय टुंग्याउन भारतसँग कुरा भइरहेको बताए। अघिल्लो सरकारमा पनि आफूले विकास निर्माणका काम गर्दा धेरैलाई पीडा भएको बताए।

मधेशमा कुनै पनि ढल नभएको अवस्थामा वर्तमान सरकारले त्यसको व्यवस्था गरेको उनले दाबी गरे।

उनले विकास निर्माणका धेरै काममा सरकार अघि बढेको बताए। ‘विकास निर्माणका काम धेरै हुँदै छन्,’ ओलीले भने, ‘सुरुङमार्फत् एक घण्टाभित्र हामी चिनियाँ नाका जान्छौं। महाकाली करिडोरको काम भइसकेको छ। झोलेङ्गे पुलले तुइन विस्थापन गर्ने काम भएको छ।’

प्रधानमन्त्री ओलीले आफूले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको पनि बताए।

‘म भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु। मित्रता बढाउन चाहन्छु,’ उनले भने, ‘सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन चाहन्छु।’ उनले भू–भाग हडपिएको थाहा हुँदाहुँदै बोल्न नसक्ने र बाहिर सम्बन्ध राम्रो छ भन्ने विगतमा गरिएकोप्रति असन्तुष्टि पनि जनाए।

उनले भने, ‘भू–भाग हडपिएको थाहा छ अनि बोल्न नसक्ने, सम्बन्ध राम्रै छ भन्ने। सीमा समस्या छ भने हाम्रा अडान राख्नुपर्छ। न्यायोचित तर्क हामीले प्रस्तुत गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले राष्ट्रवादका ठूला कुरा नगर्न पनि आग्रह गरेका छन्।

लिम्पियाधुरासहितको नक्सा प्रकाशित गरे पनि त्यो नेपालकै भूमि भएकोले भारतसँग सम्बन्ध नबिग्रने उनले बताएका छन्। उनले व्यवहारिक रूपमा भूमि फिर्ता लिइने पनि बताए।

‘नक्सामा मात्र होइन, व्यवहारमै हामी भूमि सामेल गर्छौैं, नक्सा छापिएपछि संविधान संशोधन भयो’, ओलीले भने, ‘निशान छापमा राखेर संविधानको अंग बनाइयो। यसपछि कतिपयलाई छटपटि भएको छ।’ 

संविधान जारी भएलगत्तै नाकाबन्दी गरिएपछि अर्को देशसँग पारवहन सन्धि गरेर नेपाललाई भूपरिवेशिष्टत होइन, भूजडित राष्ट्र आफूले बनाएको दाबी उनले गरे। 

प्रकाशित मिति: : 2021-01-10 14:08:00

प्रतिकृया दिनुहोस्