'नेपाल-भारत सम्बन्ध ठूलो वा सानो देशको होइन, दुबै देश सार्वभौम हुन्'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत बीचकाे सम्बन्ध ठूलो वा सानो देशको नभएको बताएका छन्। 

भारतीय टेलिभिजन जी न्यूजका प्रधान सम्पादक सुधीर चाैधरीसँगको संवादमा प्रधानमन्त्री ओलीले दुबै देशहरू सार्वभौम र समान भएकाे बताउदै उनले दुबै देशकाे मैत्रीपूर्ण सम्बन्धमा भारत आफै जानकार हुनुपर्ने जनाए।

‘नेपाल र भारतबीच दाई र भाइको सम्बन्ध रहेन।  बदलिएको समयानुसार पारस्परिक सम्बन्ध स्थापना गर्नु जरुरी हुन्छ। यो पारस्परिक सम्मानको युग हो । यो उपनिवेशको युग होइन । भूगोल र आकारमा देशको साइज ठूलो सानो होला तर, राष्ट्रको रुपमा भारत र नेपाल समान छन्,’ ओलीले भने।

भारतीय समकक्षी नरेन्द्र मोदी नेपाल-भारत समान सम्बन्धमा विश्वास गर्ने ओलीले उल्लेख गरे। उनले भारतीय प्रधानमन्त्री मोदी र आफू बराबरको प्रधानमन्त्री भएको समेत बताए।

‘यदि भारत इमान्दार छ भने आफूलाई बोस ठान्दैन । मोदीजी म भन्दा केही वर्षले जेठो हुनुहुन्छ व्यक्तिगतरुपमा तर, सरकार प्रमुखको रुपमा हाम्रो हैसियत एउटै हुन्छ,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले भारत र चीन बीचको विवाद नेपालीहरुकाे  हितमासमेत नहुने स्पष्ट पारेका छन्।

उनले भने, 'हामी एक अर्काको विरूद्ध कुनै कार्ड खेल्न चाहदैनाैं। हामी दुबै देशसँग सन्तुलित सम्बन्ध राख्न चाहन्छौं।'

प्रधानमन्त्री ओलीले भारत र चीन बीचका विवादहरुमा नेपालले मध्यस्थता गर्न सक्ने जनाएका छन्। 'यदि दुई देश बीच कुनै विवाद उत्पन्न भयो भने नेपाललाई पनि असर गर्नेछ। नेपालले दुई देशबीच शान्ति र विकास चाहन्छ', उनले भने।

प्रकाशित मिति: : 2021-01-11 21:30:00

प्रतिकृया दिनुहोस्