मलाई हटाउन भारतीय मिडियासमेत लागिपरे: प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले  भारतको एक पक्ष आफूलाई हटाउन लागि परेको आरोप लगाएका छन्।

सोमबार बेलुका भारतीय टेलिभिजन जी न्यूजका सम्पादक सुधिर चाैधरीलाई दिएको अन्तवार्तामा ओलीले आफूविरुद्ध कुप्रचार गर्न भारतीय सञ्चार माध्यमसमेत लागि परेकाे बताएका हुन्।

उनले भने, ‘भारतका केही पक्ष मलाई हटाउन लागेका छन्। भारतीय मिडिया नकारात्मक सामाग्री प्रशारण गरिरहेकाे छ।’ उनले अस्थिरता निम्त्याउने कोसिस भएकाले आफूले त्यसलाई असफल बनाउन संसद विघटन गरेकाेसमेत बताए।

आफ्नै पार्टीका केही महत्वकांक्षी नेताहरुले अस्थिरता मच्चाउन खोजेकाले प्रतिनिधिसभा विघटन गरेको प्रष्टिकरण दिएका छन्। ‘आफ्नै पार्टीका केही महत्वकांक्षी नेताहरुले अस्थिरता मच्चाउन खोजे। जुन मुलुकलाई  अस्थिरतातिर घचेट्ने कोसिस थियाे। यसलाई असफल बनाउन संसद विघटन गरेँ।’

संसद विघटनपछि चुनावको घोषणा भएको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु ठीक हो त? भन्ने प्रश्नमा ओलीले जवाफ दिए, ‘संसद विघटनपछि मन्त्रिपरिषद विस्तार गर्नु पनि संवैधानिक नै हो। विभिन्न देशमा आआफ्ना खालका संविधान छन्।’

के बैशाखमा हुने चुनावपछि पनि तपाइँ प्रधानमन्त्री रहिरहनुहुन्छ भन्ने जिज्ञासमा ओलीले चुनाबपछि पनि आफ्नो दलले बहुमत ल्याउने दाबी गर्दै आफ्नै पार्टीको सरकार बन्ने दाबी गरे। ‘चुनावमा केही कमजोर भएपनि ठूलो दल हाम्रै हुन्छ। चुनावपछि पनि सरकारको नेतृत्व हामीले नै गर्नुपर्ने अवस्था हुन्छ’ ओलीले भने।

प्रकाशित मिति: : 2021-01-11 22:57:00

प्रतिकृया दिनुहोस्