बार्सिलोना सिजनको पहिलो उपाधि नजिक

टाइब्रेकरमा रियल सोसीडाडमाथि जित हात पार्दै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । 

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुग्यो ।  टाइब्रेकरमा रियल सोसीडाडमाथि ३-२ को जित दर्ता गर्दै बार्सिलोना सिजनको पहिलो उपाधि नजिक पुगेको हो ।

 टाइब्रेकरमा बार्सिलोनाका गोलरक्षक टेर स्टेगनले दुई प्रहार बचाएका थिए । खेलको ३९ औं मिनेटमा बार्सिलोनाले फ्रेन्की डे जोङको गोलमा अग्रता लिएको थियो । 

 डे जोङले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि दोस्रो हाफको सुरुवातमै सोसीडाडलाई रेफ्रीले पेनाल्टी दिए । उक्त पेनाल्टीलाई मिकेल ओयाराज्बालले गोलमा परिणत गर्दै सोसीडाडलाई खेलमा फर्काए । 

अतिरिक्त समयमा दुवै टोलीले खेल जित्ने अवसर पाएपनि त्यसको फाइदा उठाउन सकेनन् । 

टाइब्रेकरमा सोसीडाडको लागि जोन बाउटिस्टाले गरेको पहिलो प्रहार नै गोलरक्षक टेर स्टेगनले विफल पारे । तर बार्सिलोनाका डे जोङको प्रहार पोस्टमा लागेर फर्किएको थियो । सोसीडाडको दोस्रो नम्बरमा आएका ओयाराज्बालको प्रहार पनि टेर स्टेगनले गोल हुन दिएनन् ।

बार्सिलोनाको लागि ओस्मान डेम्बेलेले दोस्रो प्रहारमा गोल गर्दै अग्रता दिलाए । तर विलियन जोसेले पोस्टमा प्रहार गरेपछि सोसीडाडको लगातार तेस्रो प्रहार गोल हुन सकेन । मिरालेम प्यानिचले तेस्रो नम्बरमा गोल गर्दै बार्सिलोनालाई २-० ले अघि राखे । मिकेल मेरिनोले चौथो प्रहारमा भने गोल गर्दै सम्भावना जीवित राखे ।

लगत्तै एन्टोइन ग्रिजमनले गाेल गर्न सकेनन् । सोसीडाडका लागि अदनान जानुजाजले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । अन्तिम प्रहारमा बार्सिलोनाका रिकी पुजले गोल गर्दै टाइब्रेकरमा ३-२ को जित पक्का गरे ।

बार्सिलोनाले फाइनलमा एथ्लेटिक बिल्बाओ र रियल म्याड्रिडको विजेतासँग खेल्नेछ । प्रतियोगिता इतिहासमा बार्सिलोनाले सर्वाधिक १३ पटक यो उपाधि जितेको छ । गत सिजनको विजेता रियल म्याड्रिड ११ पटक जित हासिल गरेको छ ।

प्रकाशित मिति: : 2021-01-14 07:36:00

प्रतिकृया दिनुहोस्