‘ओलीको मृगौला प्रत्यारोपण सफल भएपछि प्रचण्ड–माधवको सपना असफल भएको हो’

नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य रहेको कारण प्रचण्ड–माधवले कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने सपना असफल भएको बताएका छन्।

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि केपी शर्मा ओलीको स्वास्थ्य राम्रो भएको र प्रचण्ड–माधवले कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने सपना असफल भएको हो।’

यस्तै उनले प्रचण्डले सूर्य चिह्न दावी गर्नु हाँस्यास्पद भएको समेत बताए। 

प्रचण्डले बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  सूर्य चिन्ह नपाए देशमा ‘कयामत’ हुने चेतावनी दिएका थिए। 

यसको जवाफ दिँदै बस्नेतले भने,‘उहाँ आफै माओबादी विलय गरेर  पूर्वएमालेको विरालो बोकेर हामीसँगै म्याउ गर्दै हुनुहुन्छ। अचम्म लाग्छ उहाँले सूर्य चिन्ह दाबी गर्दै हुनुहुन्छ।’

बस्नेतले प्रधानमन्त्री ओलीले संविधानअनुसार नै संसद् विघटन गरेको पुन दोहर्‍याए।  

‘६४ प्रतिशत जनमत बोकेको व्यक्तिले संसद् विघटन गरिएको हो। यो संविधानअनुसार छ। अरु सबै भ्रम हो,’ उनले भने। 

उनले संसद् पुनर्स्थापना गर्नु भनेको जनताको अभिमतको अपमान हुने जिकिर गरे। 

‘लोकतन्त्रको महत्त्वपूर्ण पक्ष आवधिक निर्वाचन हो। विसंगतितर्फ जानुभन्दा डेढ वर्ष अघि चुनाव गर्नु उपयुक्त हुन्छ,’ उनले भने। 

प्रकाशित मिति: : 2021-01-14 14:08:00

प्रतिकृया दिनुहोस्