पाँच मुक्तक

पहिलो बुँदा नम्बरमा आमाबुबा लेख्नुस्।
सबैले चिनिने अक्षरमा आमाबुबा लेख्नुस्।

संसारकै ठूलो चिज के हो? भन्ने प्रश्न गर्दा
सिधैँ त्यसको उत्तरमा आमाबुबा लेख्नुस्।

२)

जेजति सोच,जेसुकै ठान आफन्त चाहिन्छ।
यो  कुरा  मान  या नमान आफन्त चाहिन्छ।

जिउँदो छँदै कोही कसैको  दुश्मनी नहुनु 
पछि आफ्नै मलामी जान आफन्त चाहिन्छ।

३)

देखाई दिएर यस्तो उदाहरण विश्व चकित पारौं ।
लागोस् न बरु तारामा ग्रहण विश्व चकित पारौं।

प्रेमको बैज्ञानिक अध्ययनकेन्द्र  नासा हौं हामी 
गरेर प्रेमको उपग्रह  प्रक्षेपण विश्व चकित पारौं ।

४)

पढ्दा असाध्यै खुकुलो त कितावमा मात्रै हो ।
निको पार्ने ओखती मुलो त कितावमा मात्रै हो ।

जिन्दगी पढिरहेको मेरो बुबाले यस्तो भन्नुहुन्छ 
सम्पत्तिभन्दा विद्या ठूलो त कितावमा मात्रै हो  । 

५)

गरेर सम्मान, गरेर कदर साथ दिइरह्यो।
गाउँमा होस् या सहर साथ दिइरह्यो।

मेरो लागि दु:ख भनेको श्रीमती जस्तै हो
पाइला पाइलामा जिन्दगीभर साथ दिइरह्यो।

प्रकाशित मिति: : 2021-01-16 17:34:00

प्रतिकृया दिनुहोस्