हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने

सांकेतिक तस्बिर

नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गहुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट नचाहिने भएको छ। 

 यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो। २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका नागरिक आवतजावत गर्नका लागि  अनिवार्य गरिएको  थियो ।  
 
जिल्ला बाहिरबाट सदरमुकाम सिमकोट आउँदा रु दुई हजार तिरेर पिसिआर रिपोर्ट  ल्याउनु पर्दा जिल्लावासी समस्यामा पर्ने गरेका थिए। 

जिल्ला प्रशासन कार्यालयको कोभिड विपत् व्यवस्थापन समितिको  बैठकले अनिवार्य पिसिआर नचाहिने निर्णय गरेपछि सो समस्याबाट यहाँका स्थानीयवासीले छुटकारा पाएका छन्।  सिमकोट आउदा पिसिआर रिपोर्ट नचाहिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए।
   
जिल्ला बाहिरबाट आएका व्यक्तिलाई विमानस्थलको हेल्थ डेक्सले नियमित कोरोना चेकजाँच गर्ने भएको छ। 

किसानलाई १५ हजार स्याउ र ओखरका बोट वितरण

सिमकोट गाउँपालिकाले यस वर्ष पनि किसानलाई निःशुल्क स्याउ र ओखरका विरुवा वितरण गरेको छ। 

 जिल्लामा स्याउ, ओखर लगाउने सिजन शुरु भएसँगै किसानलाई स्याउ, ओखरमा आत्मनिर्भर बनाउनका लागि विरुवा वितरण गरेको  गाउँपालिकाको कृषि विकास शाखा प्रमुख नेत्रबहादुर शाहीले जानकारी दिए।
      
सिमकोट बागवानीअन्तर्गत वडा १ देखि ८ सम्मका किसानलाई आठ हजार ५०० स्याउका विरुवा र सात हजार ओखरका विरुवा वितरण गरेको उनले बताए।  

 शाखाले बेमौसमी तरकारीका बीउसमेत वितरण गरिरहेको छ। निवेदनका आधारमा आफ्ना वडाभित्रका स्याउखेती गर्ने किसानलाई वितरण गरिएको हो। गत वर्ष दश हजार स्याउ र दुई हजार ओखरका विरुवा वितरण गरिएको थियो  । रासस 

प्रकाशित मिति: : 2021-01-17 13:35:00

प्रतिकृया दिनुहोस्