नवजात शिशु ६० हजारदेखि १ लाख ५० हजार भारुसम्ममा किनबेच गर्नेगरेको खुलासा

भारतको आर्थिक राजधानी मानिने मुम्बई कुनै समय अपराधको पनि केन्द्र नै मानिन्थ्यो। भलै यो क्रम पछिल्ला वर्षहरुमा घट्दैगरेको बताइन्छ। 

मुम्बई प्रहरीले यसै साता नवजात शिशु किनबेच गर्ने एक गिरोहको पर्दाफास गरेको छ। छ महिलासहित आठ जनालाई मुम्बईमा पक्राउ गरेपछि गिरोहले नवजात शिशुलाई ६० हजारदेखि १ लाख ५० हजारसम्ममा बेच्ने गरेको तथ्य खुलेको छ। 

अपराध शाखाको प्रारम्भिक अनुसन्धानले ६ महिनामा आठ जना नवजात शिशुलाई बेचबिखन गरेको पत्ता लगाएको छ तर प्रहरीले बेचिएका शिशुहरुको संख्या बढ्नसक्ने आशंका गरेको छ। 

अपराध शाखा (वन)ले शनिबार आरती हीरामनी सिंह, रुक्सर शेख, रुपाली वर्मा, निशा अहीर, गीताञ्जली गायकवाड र संजय पदमलाई पक्राउ गरेको हो। आरती प्याथोलोजी ल्याबकी प्राविधिक हुन्। उनी उक्त गिरोह संचालक भएको समेत खुलेको छ। 

किनबेचका बेला प्रयोग गरिएका शिशुहरुको फोटो व्हाट्सएप च्याट र फोनहरूमा फेला परेको मुम्बई प्रहरीले जानकारी दिएको छ। अनुसन्धानमा सक्रिय प्रहरी अधिकारी मनीषा पवारका अनुसार, शिशु किनबेचमा लागेकी एक महिलामार्फत् यो अपराधको पर्दाफास भएको हो। 

ती महिला मुम्बई शहरको बान्द्रापूर्वमा बस्ने गरेकी थिइन्। उनले भर्खरै शिशु बालिकालाई बेचेकी थिइन्। 

रुकर शेख नामकी ती महिलालाई अपराध शाखाले केरकार गरेको छ। उनले रुपाली वर्मा मार्फत आफ्नो नवजात शिशुलाई पुणेको एक परिवारमा बेचेपछि अपराधको रहस्यमय खुलासा भएको हो। 

शेखले सन् २०१२ प्रहरीलाई बताएअनुसार उनले आफ्नी छोरीलाई त्यसबेला रुपाली मार्फत बेचेकी थिइन्। शाह जहानले सन् २०१९ मा आफ्नो शिशु छोरालाई धारावीमा रहेको परिवारलाई ६० रुपैयाँमा बेचेकी थिइन्। उनले रुपालीमार्फत बेचेकी थिइन्।

शिशु किनबेचमा सक्रिय रुकर, शाह र रुपालीलाई १४ जनवरीमा मुम्बई प्रहरीले नियन्त्रणमा लिएको थियो। सोधपुछको क्रममा उनहरुले आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ।

प्रकाशित मिति: : 2021-01-18 12:55:00

प्रतिकृया दिनुहोस्