‘हामी सिंहका सन्तान हौं, जुरुक्क उठेर गर्जियौं भने ओली जस्ता भेडाहरु बाँकी रहँदैनन्’

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेडाको संज्ञा दिएका छन्।

अखिल नेपाल महिला संघको बैठकलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका प्रचण्डले आफूहरु सिंह भएकाले ओलीविरुद्ध गर्जिनुपर्ने बताएका हुन्।

‘हामी पनि कता कता ओली जस्ता भेडाको संगत गर्दा गर्दै भेडा जस्ता पो भयौं। हामी सिंहका सन्तान हौं, जुरुक्क उठेर गर्जियौं भने ओली जस्ता भेडाहरु बाँकी रहँदैनन्,’ उनले भने।

उनले आफूले रगत र पसिना बगाएर जन्माएको बच्चाको हत्या हुन लागेको भन्दै महिलाहरुलाई एक पटक आन्दोलनमा होमिन आग्रह गरे। 

‘हामीले रगत पसिना बगाएर जन्माएको बच्चाको हत्या हुँदैछ। उसलाई आइसीयूमा राखिएको छ। अहिले त्यो बच्चालाई एउटा भिलेनले खलनायककले हामीबाट खोसेर जबरजस्ती मार्ने षडयन्त्र गर्दैछ। हामी आफूले जन्माएको बच्चा मार्न लागेको कुरा टुलुटुलु हेरेर बस्न सक्दैनौं,’ अध्यक्ष प्रचण्डले भने।

आफ्नो बच्चाको बारेमा महिलाहरु नै बढी चिन्तित हुने भन्दै संविधान बचाउका लागि पनि महिलाहरुको महत्वपूर्ण भूमिका हुने उनले जिकिर गरे।

‘आमाले १० महिना गर्भमा शिशु राखेजस्तै हो। यो लोकतन्त्र ल्याउन रगतको खोलो बगेको थियो। बच्चा जन्माउँदा गर्व र खुसी र मर्नुको पीडा सबैभन्दा बढी अनुभूति आमाहरुलाई महिलालाई नै बढी थाहा हुन्छ। त्यसैले जनअदालतमा फैसला सुनाउनका लागि जस्तोसुकै मूल्य चुकाउने तयार हुने दिन आयो,’ उनले भने। 

प्रचण्डले प्रधानमन्त्री केपी ओलीविरुद्ध आम हड्ताल गर्नुपर्ने अवस्था आउने बताए।

‘माघ १६ गतेको विशाल शक्ति प्रदर्शनपछि आम हड्तालतिर जानुपर्ने अवस्था आउन सक्नेछ,’उनले भने,‘त्यहाँसम्म पुग्दा हामीले ब्याटल जितिसक्छौं र जसरी पनि हामीले यो ब्याटल जित्नैपर्छ।’

नेपालको इतिहासमा महिला आन्दोलनको महत्वपूर्ण भूमिका रहेको भन्दै फेरी एक पटक आन्दोलनमा सक्रिय भएर जाग्न अनुरोध गरे। 

‘तपाई महिला कमरेडहरु एकचोटी गर्जिदा लाखौं करोडौं महिला गर्जिएको आवाज आउनेछ।  निरुंकुशता ध्वस्त पार्ने जिम्मा पनि तपाईहरुको काँधमा आएको छ,’ उनले भने। 

प्रकाशित मिति: : 2021-01-18 16:36:00

प्रतिकृया दिनुहोस्