जुम्लामा अनिश्चित बनेकाे बिजुली नाै घण्टा लोडसेडिङसहित आउने

घुगुत्ती पावर हाउसमा रहेका दुबै मेसिन बिग्रिएपछि अनिश्चितकालीन अँध्यारोमा धकेलिएकाे जुम्लामा नाै घण्टा लोडसेडिङसहित बिजुली आउने भएकाे छ।

मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। विद्युत वितरण गरिएको विभिन्न स्थानहरूमा हुने लोडसेडिङको तालिका आइतबार सार्वजनिक गरिएको हो।

तालिकाअनुसार दैनिक ९ घन्टासम्म विद्युत आपूर्ति बन्द हुनेछ। टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गौरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि साढे १ बजेसम्म र राति साढे ८ बजेदेखि १२ बजेसम्म लोडसेडिङ हुने छ।

यस्तै ठुलो विजयनगर, सानो विजयनगर, बोहोरागाउँ र बसपार्क क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म (९ घन्टा) लोडसेडिङ हुने विद्यतु प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख गौरव पाण्डेका अनुसार चन्दननाथ नगरपालिकाभित्र मात्र विद्युतको माग ८०० किलोवाटदेखि १ मेगावाटसम्म छ। जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन।  साना जलविद्युत आयोजना जुम्लाबाट बिजुली वितरण भइरहेको छ।

'प्राधिकरणले विद्युत वितरण गरिरहेको क्षेत्र चन्दननाथ नगरपालिकाभित्र मात्र कम्तिमा ८०० किलोवाट विद्युतको माग छ,' उनले भने, 'तर यहाँको उत्पादन क्षमता भनेको २२० किलोवाट हो। त्यति पनि आवश्यकता अनुसार पानीको बहाव पुगेपछि मात्र।'

याे वर्ष पानीको बहाब कम भएकाले विद्युत उत्पादन कम हुने र खपत धेरै हुने हुँदा बेलाबेलामा पावर हाउस नै बन्द गर्नु पर्ने अवस्था आएको उनले थपे। याे वर्ष हिउँ नपरेकाले पनि पानीको बहाव कम भएको छ।

उनका अनुसार हरेक दिन बिहान २ देखि ५ बजेसम्म, ८ देखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द गर्नुपर्छ। 

यसअघि स्थानीय उपभोक्ता समितिमार्फत् वितरण गरिँदैको आएको विद्युत वितरण प्रणाली २०७७ जेठदेखि प्राधिकरणले आफ्ना स्वामित्वमा लिएकाे हाे।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार यसअघि बारम्बार विद्युत अवरूद्ध भइरहेको थियाे। पावर हाउसमुनि खेत भएकाले रोपाइँका बेला १५ देखि २० दिनसम्म लोडसेडिङ हुन्थ्यो।

'प्राधिकरणले स्वामित्व लिइसकेपछि लोडसेडिङ केही कम होला भन्ने आशा गरिए पनि अवस्थामा सुध्रिन सकेकाे छैन,' उनले भने, 'हामीले धेरै पटक आन्दोलन गर्‍याैं। केन्द्रसम्म कुरा पुगायाैं। हाम्रा संसदले सदनमा कति पटब बाेल्नुपर्‍याे तर पनि समस्या जिउँका तीउ छन्।'
 

प्रकाशित मिति: : 2021-01-18 20:57:00

प्रतिकृया दिनुहोस्