प्रदेश २ माथि बागमतीकाे ६ विकेटकाे जित

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार तेस्रो जित निकालेको छ। 

प्रदेश २ ले जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको बागमतीले ४८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।

बागमतीका लागि पृथु बास्कोटा ७५ बलमा ४ चौका र १ छक्कासहित ५३ रनमा अविजित रहे। पृथुको यो लगातार दोस्रो अर्धशतक हो। 

ओपनर आकाश थापा ६२ बलमा ४ चौका ३२ रनमा आउट भए। विभत्सु थापाले ९३ बलमा ३ चौका प्रहार गर्दै ४७ रन जोडे। ईशान पान्डे १५ र आदिल खान ५ रनमा आउट भए। 

प्रदेश २ का हरिशंकर शाहले २, कुमार थापा र विशाल शुश्लिङले १–१ विकेट लिए।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४८।२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो। 

प्रदेश २ का युवा अलराउन्डर विवेक यादवले ७४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए। 

उनको यो दोस्रो अर्धशतक हो। 

कुमार थापाले ३१ बलमा २ छक्का सहित २२ रनमा बनाउँदै आउट भए।

यता राहुल प्रताप सिंहले १८ रनमा आउट भए। ६२ बल खेलेका उनले कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेनन्। 

सुधिर चौधरी  १५,कप्तान सुरज कुर्मी १३, हरिशंकर शाह ६,  विशाल शुश्लिङ ५   महबुब आलम २ रनमा आउट भए। 

गौतम केसीले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर ४ विकेट लिए। 

राम नरेश गिरीले २ विकेट लिए। विपिन आचार्य, नन्दन यादव र तिलकराज भण्डारीले १–१ विकेट लिए।

प्रकाशित मिति: : 2021-01-22 17:27:00

प्रतिकृया दिनुहोस्