प्रचण्डबारे ओलीको टिप्पणी: खुट्टी देखेरै पत्याइयो, वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते देखाउँछौं

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (प्रचण्ड)ले शुक्रबार काठमाडौंमा गरेको प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरेका छन्।

शुक्रबार बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले भने ‘खुट्टी देखेरै पत्याइयो। उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन्। वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं।’

ओलीले प्रचण्ड र माधव नेपाललाई हिन्दी फिल्मको पात्र ‘मुंगेरीलाल’सँग तुलना गर्दै दुई नेताले आफ्नो र परिवारको बाहेक अरुको बारेमा कहिल्यै नसोचेको आरोप समेत लगाए ।

‘‘मुंगेरीलालके हँसिन सपने’ भन्ने फिल्ममा एउटा पात्र थियो । यहाँ त एउटा होइन दुईटा मुंगेरीलाल छन्। मुंगेरीलालले आफ्नो लागिमात्र अनौठा अनौठा सपना देख्छ। हाम्रा मुंगेरीलालहरु पनि जनताको लागि कहिल्यै सपना देख्दैनन् । खाली म र मेरो परिवार, मेरा छोरी ज्वाइँ भन्नेमात्र सपना देख्छन्,’ उनले भने। 

उनले  ‘मुंगेरीलालके हँसिन सपने’ नामको पूरानो हिन्दी फिल्म युट्युवमा खोजेर हेर्नसमेत प्रचण्ड र माधवलाई सुझाव दिए ।

यस्तै उनले संसद पुनर्स्थापनाबारे अदालतलाई धम्की नदिनसमेत चेतावनी दिए।

‘प्रतिनिसभा पुनर्स्थापनाको प्रावधान संविधानमा छैन। प्रचण्ड–माधवले चाहदैनमा हुँदैन। वकिलहरुले अदालतमा गफ फिट्ने काम गरे पनि त्यसको अर्थ छैन,’ उनले भने। 

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सडक संघर्षमा उत्रिएको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम अनतर्गत शुक्रबार काठमाडौँ उपत्यकामा बृहत् प्रदर्शन गरेको हो।

प्रकाशित मिति: : 2021-01-22 18:37:00

प्रतिकृया दिनुहोस्