ट्रम्पलाई मार्ने धम्की दिएपछि इरानका सर्वाेच्च नेताको ट्विटर अकाउन्ट बन्द

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई बदला लिने धम्की दिएपछि इरानका सर्वाेच्च नेताको ट्विटर अकाउन्ट बन्द गरिएकाे छ।

शुक्रबार नेता आयातुल्लाह खामेनीले ट्विटरमा ट्रम्पप्रति कटाक्ष गर्दै इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको हत्याको बदला लिएरै छाड्ने बताएका थिए।

ट्विटमा खामेनीले एउटा तस्बिर राखेका छन्, जसमा ट्रम्पको अनुहारसँग मिल्दोजुल्दो एक व्यक्ति लडाकु विमान वा ड्रोनको छाँयामा गल्फ खेलिरहेको देखिन्छ।

खामेनीले फारसी भाषामा ट्विट गर्दै लेखेका थिए, ‘बदला लिन बाध्य छ।’ उनले बदला शब्द रातो अक्षरमा लेखेका थिए। उनले अगाडि लेखेका थिए, ‘सुलेमानीका हत्यारा र उनको हत्या गर्नेले यसको मूल्य तिर्नुपर्नेछ।’

उक्त ट्विटपछि ट्विटरले खामेनीको ट्विटर अकाउन्ट नै बन्द गरिदिएको छ। खमानीले अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ‘राष्ट्रपतिको आदेशमा’ मारिएको दाबी गर्दै आएका छन्।

अमेरिकी सञ्चारमाध्यमहरूले भने सुलेमानी र इरानसमर्थित विद्रोही नेताहरू दुईवटा कारमा विमानस्थलबाट निस्कदै गर्दा आक्रमणमा परेको बताएका थिए।

एक वर्षअघि बग्दादमा सुलेमानीको हत्या भएको थियो। सुलेमानी सिरिया वा लेबननबाट इराक आएको बताइएको छ। जनरल सुलेमानी कारमा रहेको बेला अमेरिकी हवाई आक्रमणमा मारिएका हुन्। 

त्यसबेला अमेरिकाका तत्कालीन राष्ट्रपति ट्रम्पले सुलेमानी लाखौं व्यक्तिको हत्यामा जिम्मेवार रहेको दाबी गरेका थिए।

खामेनीले उनको मृत्युपश्चातनै अमेरिकाले कठोर बदलाको सामना गर्नु पर्ने धम्की दिँदै आएका थिए। सुलेमानी मारिएलगत्तै इरानले त्यसको बदलामा इराकको अमेरिकी एयरबेसमा केही मिसाइल हानेको थियो। 

इरानको लागि सुलेमानी महत्वपूर्ण व्यक्ति थिए र उनले सिधैँ सर्वोच्च नेता खामेनीको नेतृत्वमा काम गर्थे। मेजर जनरल सुलेमानीको मृत्युसँगै इरानसहित मध्य पूर्वमै तनाव उत्पन्न भएको छ। 

अहिले खामेनीले गरेको ट्विटमाथि धेरै मानिसले आपत्ति जनाउँदै उनको ट्विट अकाउन्ट बन्द गर्न माग गरेका थिए।

यसअघि ट्विटरले ट्रम्पको ट्विटर अकाउन्ट सधैँका लागि बन्द गराइसकेको छ। अमेरिकी संसदमा यही जुन ६ मा हिंसात्मक आक्रमण भएपछि ट्रम्पले हिंसा भड्काउने कुरा लेखेको आरोप ट्विटरले लगाइएको थियो।

तर अहिले इरानका सर्वोच्च नेता  खामेनीको अकाउन्ट बन्द गरेका विषयमा ट्विटरले कुनै प्रतिक्रिया दिइसकेको छैन।

कासिम सुलेमानी को हुन् ?

सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो। सो दस्ताले देश बाहिर गोप्य गतिविधिहरू गर्ने बताइएको छ।

जनरल सुलेमानीले सिरियामा बसार अल–असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको सङ्घर्षमा विशेष भूमिका खेलेका थिए। उनले सन १९८० को दशकमा भएको इरान–इराक युद्धमा लडेका थिए।

६२ वर्षीय सुलेमानी सर्वोच्च नेता आयतोल्लाह खामेनी पछिका दोश्रो शक्तिशाली नेताका रूपमा लिइन्थे। इरानको रिभोलुशनरी गार्ड कर्प्सको उच्चतम एकाइ द क्विड फोर्सले आयोतोल्लाह खामेनीलाई रिपोर्ट गर्थ्यो र सुलेमानीलाई राष्ट्रिय नायकका रूपमा लिइन्थ्यो।

क्विडमा उनको २१ वर्षे नेतृत्वकालमा इरानले हेजबुल्लाहलाई बलियो बनाएको छ र लेबननमा इरानी समर्थक लडाकू समूहलाई विस्तृत बनाएको मानिन्छ।

इराक र सिरियामा उसको सैन्य उपस्थिति बढाएको र सिरियाको लामो गृहयुद्धमा लडाकू समूहविरुद्ध कारबाहीको योजना कार्यान्वयनमा ल्याएको जस पनि दिइन्छ।
 

प्रकाशित मिति: : 2021-01-23 07:36:00

प्रतिकृया दिनुहोस्