'प्रधानमन्त्रीज्यू म पीत पत्रकारिता गर्दिनँ, माफ गर्नुस्! तपाईँको पार्टीको पत्रकार भनेर चिनिनु नि छैन'

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं : प्रधानमन्त्री ज्यू, बुधवार तपाईँले पढाएको पत्रकारिताको पाठले हल्का छोयो। केहीमा सहमति केहीमा विमती रह्यो। त्यही सहमति र विमतिलाई लेख्दै छु।

तपाईँले पीत पत्रकारिताको पाठ पढाउनु भयो। तपाईँले भन्नु भएको थियो कि-  

'पहिलो कुनै पनि शर्तमा कुनै पनि अर्थमा देशभक्ति किञ्चित कमी आउनु हुँदैन। देशभक्ति नभएको नेपाली त होला प्रमाणपत्रको हिसावले मन भावनात्मक हिसाबले देशभक्ति नभए त्यो के नेपाली? हामी विकाउ बस्तु होइन। काम गरेको भत्ता लिन्छौँ। तर हामी आत्मा बेच्दैनौँ। कामको ज्याला लिन्छौँ। तर आत्मा बेच्दैनौँ।'

हो देशभक्तिको परिभाषा तपाईँको र मेरो फरक होला। तपाईँको परिभाषामा तपाईँको गुनगान गाउनु होला। मेरो परिभाषा देशको गुणगान गाउनु हो। म देशको गुणगान सँधै गाउने छु। कालोलाई कालो र सेतोलाई सेतो भन्न कुनै हिच्किचाहट छैन। यसमा म तपाईँको देशभक्तको परिभाषाभित्र पर्दिन भने ठीकै छ। तर म देशभक्त नै हुँ।

'मानव जाती सदैव मानव जातीको अवसरका निम्ति तपाईँहरुले लेख्नु बोल्नुपर्छ। मान्छेले असमानता चाहन्छ। समानता चाहन्छ। मानव जातीका वीचमा असमानता होइन समानताको पक्षमा वकालत गर्नुपर्छ,' तपाईँले भन्नु भएको थियो।  त्यसमा म पनि अडिग छु।

'मन परेन भनेर नभएको नलेख्नुस्,' तपाईँले भन्नु भएको थियो, हो म लेख्दिनँ। मलाई तपाईँ मन परेको छैन। तर म तपाईँलाई भित्तामा पुर्‍याउनुपर्छ भनेर ठोकेको छैन। तर तपाईँकै आफ्नै पूर्व सहकर्मी अहिले पीत पत्रकारिताको सिकार भएका छन्। त्यसरी सिकार गर्ने तपाईँकै साइबर सेना हुन्। र तपाईँ विना आधार त्यसैको भरमा ती पूर्व सहकर्मीलाई भित्तामा पुर्‍याउन खोजिरहनु भएको छ। किञ्चित म त्यस्तै मन परेन भन्दैमा तपाईँले जस्तो तपाईँका अरिंगालले जस्तो भित्तामा पुर्‍याउनका लागि गलत लेख्दिनँ।

तपाईँका साइबर सेनाको जस्तो बुद्धि कोल्टे परेको छैन। तपाईँले भन्नुभएको थियो, 'तपाईँहरुले सामाजिक न्याय र समानताको पक्षमा कुरा गर्नुपर्दछ। अधिकारको पक्षमा कुरा गर्नुपर्दछ।'

म त्यसैमा प्रतिवद्ध छु। रहने नै छु। तर, म तपाईँको पार्टीको पत्रकार भनेर चिनिनु छैन। तपाईँको पार्टीको पत्रकार भनेर चिनिन नचाहने म तपाईँको नजरमा पत्रकार नहुन पनि सक्छु। मलाई स्वीकार छ। तर कालोलाई कालो र सेतोलाई सेतो भनेर भन्न छाड्दिनँ। पाठकले मलाई मेरो लेखनीले चिनोस् भन्ने पक्कै चाहन्छु तर 'कालो'लाई 'सेतो' लेख्ने तपाईँको पार्टीको पत्रकार भनेर मलाई कसैले नचिनोस्।

'तपाईँहरुले सम्प्रेषण गरेको समाचारमा सत्यता छ के भनेर कसैले आशंका गर्ने स्थिति नहोस्। तपाईँहरु समाचार स्वार्थका लागि उल्टापल्टा समाचार नपठाउनुस्। आफ्नै स्वार्थका लागि पनि असत्य समाचार सम्प्रेषण नगर्नुस्,' तपाईँले भन्नु भएको थियो। यसमा सजग छु। यत्ति ढुक्कका साथ भन्न सक्छु कि तपाईँले मैले लेखेको समाचार पढेर भ्रममा जिउनु हुन्न। मैले लेखेको समाचार पढेर नभएको कुरा सार्वजनिक रुपमा तपाईँ भन्दै हिड्नु हुने छैन।

प्रकाशित मिति: : 2021-01-24 16:55:00

प्रतिकृया दिनुहोस्