पुलिस क्लब प्रधानमन्त्री कपको सेमिफाइनलमा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मुलपानी मैदानमा सोमबार भएको खेलमा प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो। 

प्रदेश २ ले दिएको १७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

पुलिसका लागि अनिल साहले नटआउट ४७ रन र कप्तान मन्जित श्रेष्ठले नटआउट १२ रन जोडे। अनिलले ६९ बलमा ४ चौका प्रहार गरे। यता मन्जितले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे। 

त्यसअघि ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले  ४३ रन जोडे। उनले ५५ बलमा ३ चौका र १ छक्का हिर्काए।

अमित श्रेष्ठले १७ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले १७ रनको योगदान दिए।

बलिङमा प्रदेश २ का विवेक यादव र कुमार थापाले ३–३ विकेट लिए।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश २ ले ४७ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । 

प्रदेश २ का ओपनर हरिशंकर शाह ८४ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५३ रनमा रन आउट भए । हरिशंकरले ७७ बलमा अर्धशतक पूरा गरेका थिए । हरि शंकरको यो लगातार दोस्रो अर्धशतक हो । 

हिमान्शु दत्त १६ रनमा रन आउट भए। उनले २० बलमा ३ चौका प्रहार गरे । आदिल अन्सारी १५, सुरज कुर्मी १३, रवि सिंह र विशाल शुश्लिङ समान १२ रनमा आउट भए।

यता रवि शाह ९, विवेक यादव ९ र राहुल प्रताप सिंह ७ रन जोडे। यता  कुमार थापा ८ रनमा अविजित रहे ।

पुलिसका सागर ढकालले १० ओभरमा ३ मेडन सहित ३६ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशीले ८ ओभरमा १ मेडन सहित ३७ रन खर्चेर ४ विकेट लिए । पवन सरार्फले १ विकेट लिए ।

समूह ‘बी’मा ६ अंक जोड्दै पुलिस उपविजेताको रुपमा अन्तिम चारमा पुगेको हो। यसअघि यो समूहबाट बागमती ७ अंक जोडेर विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। 

प्रदेश २ भने समूहका चारै वटा खेल हार्दै अंकबिहीन बन्यो। प्रधानमन्त्री कपमा सबै खेल हार्ने प्रदेश २ एक्लो टिम बन्यो।

अब पुलिसले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब वा नेपाल एपिएफ क्लब मध्ये एक टिमसँग भिड्नेछ।

प्रकाशित मिति: : 2021-01-25 16:00:00

प्रतिकृया दिनुहोस्