हात्तीको बथानले झुपडी भत्कायो : आरक्ष विस्थापितको बिचल्ली

सांकेतिक तस्बिर

हात्तीको बथानले ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी भत्काएर उनीहरुलाई बिचल्लीमा पारेको छ। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै विस्थापित परिवारको शिविरमा गएराति छिरेको हात्तीको बथानले झुपडी भत्काउनका साथै  त्यसभित्र राखेको अन्नबाली खाएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरा सिंह भण्डारीले जानकारी दिए। 

उनका अनुसार पचास भन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले झुपडी भत्काउन थालेपछि स्थानीय बासिन्दाहरुले भागेर ज्यान जोगाएका हुन्। 

'खाना खाएर सुत्ने तरखर गर्दै थियौं, हात्तीको बथान शिविरमा छिरेर उपद्र मच्चाउन थाल्यो' उनले भने, 'बालबालिका बोकेर सुरक्षित स्थानमा पुगेर ज्यान जोगायौं।'

झुपडीभित्र रहेको अन्न, ओढ्ने ओछ्याउने र लगाउने कपडासँगै खाना पकाउने भाडाँकुडामासमेत हात्तीको बथानले कामै नलाग्ने गरी नोक्सानी पु¥याएको उनको भनाइ छ। 

साँझ ६ बजेनै शिविर नजिकैको क्षेत्रमा सडकमा सवारीका साधन हात्तीको अवरोधका कारण रोकिएपछि हो–हल्ला गरी, पटाका पड्काएर भगाए पनि पुनःरातिका बेला हात्तीको बथानले शिविरमै पुगेर मजदूरी गरी झुपडीमा राखेको अन्नपात, लत्ताकपडा सबैमा  नोक्सान गरेको 
शिवराज भारतीले बताए। 

हात्तीको बथानले उपद्रो मच्चाएपछि रातभर बालबालिकासहित एकसरो लुगामै रुखमुनि ओत लागेर आगो तापेर ज्यान जोगाएको शिविरका बासिन्दाको भनाइ छ। 

वर्षौदेखि पुनः स्थापनको माग गर्दै आए पनि पुनःस्थापन नहुँदाको पीडा भएको बताउदैं जङ्गबहादुर खत्री भन्छन्, 'जङ्गली हात्तीको पीडासमेत खेप्न बाध्य भयौं।'

प्रकाशित मिति: : 2021-01-25 17:17:00

प्रतिकृया दिनुहोस्