विश्वमा ७ करोड बढीले लगाए कोरोनाको खोप, नेपालमा बुधबारबाट सुरु 

बेलायतबाट सुरु भएको कोरोना भाइरसको खोप लगाउने कार्य विश्वव्यापी बन्न पुगेको छ। नेपालमा बुधबारबाट खोप लगाउने कार्य सुरु हुँदा हालसम्म विश्वमा ७ करोड बढीले खोप लगाइसकेको विभिन्न समाचार एजेन्सीले बताएका छन्। 

खोप लगाउने अभियानमा अहिले सबैभन्दा अगाडि अमेरिका, चीन र इजरायल देखिएका छन्। अमेरिकामा मात्र २ करोड ४४ लाख बढीले खोप लगाइसकेका छन्। यस्तै, चीनमा पौने २ करोड र इजरायलमा ४० लाखमा खोप लगाउने कार्य सम्पन्न भइसकेको छ। 

जनसंख्याको हिसाबले सबैभन्दा धेरै ८२ प्रतिशत खोप इजराइलमा लगाइएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधबार राती खोप लगाउने र भाइरसलाई कम गर्ने कार्य तीब्र रूपमा चलिरहेको बताएका छन्। ‘वल्र्ड इकोनोमिक फोरम’ अनलाईन डाभोस एजेन्डा समिटमा उनले भने, ‘हामीले उच्च जोखिममा रहेका मानिसलाई खोप लगाउने कार्यमा पनि उत्तिकै मिहिनेत गर्नुपर्ने छ।’ उनले तत्काल ९५ प्रतिशत जनसंख्यामा खोप लगाउने कार्य सम्पन्न गर्नुपर्ने चुनौति रहेको बताए। ‘यो ठूलो काम हो,’ उनले भने। 

विश्वमा हाल कोरोना संक्रमितको संख्या १० करोड १० लाख पुगिसकेको छ। जसमा ७ करोड ३० लाख पूर्ण रूपमा ठिक भएका छन्। अहिलेसम्म २१ लाख ७३ हजार मानिसको ज्यान गइसकेको छ। 

खोप बनाउने कम्पनी फाइजरका अनुसार कोरोनाको नयाँ संक्रमण देखिएको छ, जसलाई नियन्त्रणमा ल्याउन खोपको नयाँ परीक्षण भइरहेको छ। फाइजरको यो भनाई किन पनि महत्वपूर्ण छ भने विश्वको अधिकांश देशमा फाइजरको खोपले स्विकृति पाएको छ।

प्रकाशित मिति: : 2021-01-28 08:25:00

प्रतिकृया दिनुहोस्