अदालती बहसलाई तमासा भनेकोमा प्रधानमन्त्रीलाई उपस्थित हुन आदेश, विज्ञप्तिमा अदालतको ‘अ’ उल्लेख नगरेका चार पूर्वप्रधानन्यायाधीश पनि डाकिए

अदालती कारबाहीमा अवरोध गरेमा वा जारी भएको आदेश अवज्ञा गरेमा अवहेलनाको मुद्दा लाग्न सक्छ । तर, प्रतिनिधिसभा विघटन विरोधमा अभिव्यक्ति दिएका पूर्वप्रधान्यायाधीशलाई लिखित जवाफसहित सर्वोच्चले एक साताभित्र उपस्थित हुन भनेको छ । 

२४ पुसमा चारजना पूूर्वप्रधानन्यायाधीशले संयुक्त विज्ञप्ति जारी गर्दै विघटन संविधानविपरीत भएको भन्दै विरोध गरेका थिए । उनीहरूले ‘देशको प्रजातन्त्र, कानुनी राज्य र विकासका लागि यस्तो कार्य फेरि कहिल्यै नदोहोरिने गर्न र वर्तमान गतिरोधको अवस्था सुधार गर्न सम्बन्धित सवैको ध्यानाकर्षण’ गराएका थिए । तर, उनीहरूले अदालती प्रक्रियाका विषयमा भने सो विज्ञप्तिमा केही पनि उल्लेख छैन ।

निवेदकद्वय लोचन भट्टराई र धनजित बस्नेतले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध हालेको अवहेलनाका दुवै निवेदनलाई सर्वोच्चले एकसाथ राखेर हेर्ने भएको छ । ‘सात दिनभित्र सबै व्यहोरा खुलाई आफैँ लिखित जवाफ पेस गर्नुहोला,’ न्यायाधीश डा. शर्माको आदेश छ । 

सर्वोच्चका पूर्वन्यायाधीशहरूका अनुसार अदालतको अवहेलनाका विषयमा लिखित जवाफ दर्ता गराउनू भन्ने आदेश सामान्य हो । ‘प्रजातन्त्रमा अदालत उदार हुन्छ, नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता दिइन्छ । त्यसैले सबै केसमा कारण देखाऊ आदेश जारी गर्न अदालतले आवश्यक ठान्दैन । प्रायः दुई किसिमका घटनामा अवहेलना हालिन्छ । पहिलो, अदालती काम–कारबाहीमा बाधा पु¥याएमा । दोस्रो, अदालतको आदेश नमानेमा । झट्ट हेर्दा अहिलेको अवस्था दुवैमध्ये कुनै एक हो जस्तो देखिएको छैन,’ सर्वोच्चका पूर्वन्यायाधीश गिरीशचन्द्र लालले नयाँ पत्रिकासँग भने । 

उनको कुरामा सही थप्छन् अर्का पूर्वन्यायाधीश गौरीबहादुर कार्की । उनको भनाइमा अवहेलनाको मुद्दा हतपत चलाइँदैन र चलेमा आफैँ लिखित जवाफ माग्नु सामान्य हो । ‘हतपत यो मुद्दामा सजाय गरिन्न । तर, यसअघि प्रधानन्यायाधीशमाथि नै अवहेलनामा कारण देखाऊ आदेश भएको मेरो जानकारीमा छैन,’ कार्कीले थपे । 

प्रजातान्त्रिक व्यवस्था भएको मुलुकमा मर्यादित अभिव्यक्तिकै कारण अवहेलनामा सजाय हुने गरेको छैन । ‘अदालत भनेको नागरिकको अभिभावक मानिन्छ । कसैले कुनै फैसलामा न्यायाधीशले घुस खाएर ग¥यो भन्दिन्छ, कसैले के भन्देला । त्यस्तोमा हतपत सजाय गरिन्न । तर, सजाय भएछ भने त्यो निकै नराम्रो कुरा हो,’ पूर्वन्यायाधीश कार्कीले भने । 

प्रकाशित मिति: : 2021-01-29 06:44:00

प्रतिकृया दिनुहोस्