अमेरिकी विश्वसनियता गम्भीर संकटमा

अमेरिकाका वर्तमान र निवर्तमान राष्ट्रपतिमाथि छानबिन

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका

अमेरिका यतिबेला ठूलो विश्वासको संकटमा फसेको छ । निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र बर्तमान राष्ट्रपति जो बाइडन दुबै गोप्य सरकारी दस्ताबेजहरूको दुरूपयोग घटनासँग जोडिएर छानबीनको घेरामा तानिएका छन् ।  

केही समयअघि  ट्रम्पको फ्लोरिडास्थित निजी निबासमा उनी राष्ट्रपति हुँदाका गोप्य सरकारी दस्ताबेजहरू बाकसका बाकस  बरामद भएका थिए । अहिले बाइडनका निजी कार्यालय र घरहरूमा उनी उपराष्ट्रपति हुँदाका त्यस्तै गोप्य सरकारी दस्ताबेज बरामद  हुन थालेका छन् ।

यी गोप्य दस्तावेजहरू कानुनत: राष्ट्रिय अभिलेखालयमा हुनुपर्ने हो तर तिनीहरू निजी निबासमा भेटिएपछि ट्रम्प र बाइडन दुबै अनुसन्धानको घेरामा तानिएका हुन् ।

गोप्य दस्ताबेज राम्ररी नसम्हालेको आरोपमा दुबैलाई छानबिनको दायरामा ल्याइएको हो।  अमेरिकाका बर्तमान र निवर्तमान दुबै राष्ट्रपति यस्तो गम्भीर मुद्दामा एकसाथ छानबिनमा परेको यो नै यस्तो पहिलो परिघटना हो ।

अमेरिका आफूलाई एक मात्र महाशक्ति राष्ट्र ठान्छ तर यही महाशक्ति राष्ट्रका सुरक्षासँग सम्बन्धित दस्तावेजहरू यसरी असुरक्षित हुनु निश्चय पनि स्वभाविक घटना हैन। त्यसमाथि पनि निबर्तमान र बर्तमान राष्ट्रपति नै यसरी छानबिनमा पर्नु  एक किसिमको लज्जाको विषय पनि हो ।

अझ गजबको कुरा त के छ भने राष्ट्रपति बाइडनमाथि उनकै महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले छानबिन गर्न एक विशेष अनुसन्धानकर्ता नियुक्त गरेका छन्। बाइडनको आफ्नै सरकारले आफूमाथि नै छानबिन गरिरहेको छ। 

ट्रम्प त निबर्तमान राष्ट्रपति हुन्, उनीमाथिको छानबीन त निस्पक्ष नै होला भनेर विश्वास गर्न सकिएला । तर, बाइडन त बर्तमान राष्ट्रपति हुन्, उनीमाथिको छानबीन कसरी विश्वसनीय होला ? अमेरिका अहिले यही प्रश्नमा आइपुगेर जाम भएको छ । यद्यपि, छानबिनलाई विश्वसनीय बनाउँन पूर्वराष्ट्रपति ट्रम्पको कार्यकालमा न्याय मन्त्रालयमा काम गरेका रोबर्ट हुरले बाइडनमाथि अनुसन्धान गर्नेछन् । अमेरिकामा स्वार्थ बाझिने देखिएका विषयमा छानबिन गर्न अमेरिकी न्याय मन्त्रालयले फरक पृष्ठभूमीका विशेष अनुसन्धानकर्ता नियुक्त गर्ने चलन छ।

केही समयअघिसम्म ट्रम्पमाथि छानबीन हुँदा अमेरिकाको डेमोक्रेट्स बृत र उनीहरूलाई समर्थन गर्ने मिडियाहरू काँखी बजारिरहेका थिएँ, स्याल हुइँया गरिरहेका थिए । अहिले बाइडन पनि त्यही घानमा मुछिएपछि उनीहरूको बोल्ती बन्द भएको छ । अब रिपब्लिकङनबृत र दक्षिणपन्थी मिडियाहरूको आवाज ठूलो भएको छ । हुन पनि हो, मौका पाउँदा कस्ले छोड्छ र ? 

अमेरिकाको बहालवाला राष्ट्रपति नै यस्तो संगीन आरोपमा अनुसन्धानको घेरामा पर्नु निश्चित पनि राम्रो हैन । यसले राष्ट्रपति बाइडन त राजनीतिक रूपमा अप्ठ्यारोमा परेकै छन्. उनको डेमोक्रेटिक पार्टी पनि रक्षात्मक हुन बाध्य भएको छ । 

अमेरिकाको यो पछिल्लो अवस्था देख्दा लाग्छ, राजनीतिको मूलचरित्र जहाँ पनि एउटै हुन्छ । नेताको ल्याकत र नियतमाथि शंका गर्नुपर्ने /प्रश्न ठड्याउनुपर्ने दिन आउँदो रहेछ । 

आमसञ्चारमा एउटा बहुचर्चित भनाइ छ, विश्वसनियता र कुमारीत्वमा एउटा समानता छ, त्यो के भने दुबै एकैपटकमा तोडिन्छन् । यसलाई महिला संवेदनशीलतासँग नजोडौ, मात्र विश्वसनियता कति महत्वपूर्ण हुनेरहेछ भन्ने कोणबाट मात्र हेरौं ।

अहिले अमेरिका त्यस्तै विश्वसनियता गुमेको अवस्थाबाट गुज्रिन थालेको छ । निवर्तमान र बर्तमान दुबै राष्ट्रपति यस्तो संगीन आरोपमा छानबीनको दायरामा आउनु सामान्य कुरा हुँदै हैन, यो एक असामान्य परिघटना हो । 

हेरौ, समयक्रममा यी परिघटनाहरूको पटाक्षेप कसरी हुन्छ ? आशा गरौ, छानबीन प्रभावित हुने छैन, दूधको दूध पानीको पानी छुट्टिने छ । 

प्रकाशित मिति: : 2023-01-14 07:30:00

प्रतिकृया दिनुहोस्