भ्रष्टाचारको आरोपमा चीनको एसेट म्यानेजमेन्ट कम्पनीका पूर्वप्रमुखलाई फाँसी

Photo: Central China Television

अदालतबाट भ्रष्टाचार गरेको आरोप प्रमाणित भएपछि चिनियाँ कम्पनीका पूर्वप्रमुख तथा वरिष्ठ अर्थशास्त्रीलाई फाँसी दिइएको छ।

चीन हुआरोंग एसेट  म्यानेजमेन्ट लिमिटेड कम्पनी’का पूर्वप्रमुख लाइ जियाओमिनलाई शुक्रबार फाँसी दिइएको हो। पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा गत जनवरी ५का दिन अदालतले दोषी ठहर गरेको थियो।

५८ वर्षीय जियाओमिनलाई भ्रष्टाचारसँगै दोस्रो विवाह गरेको आरोपमा समेत दोषी पाएपछि फाँसी दिएको चिनियाँ मुखपत्र ग्लोवल टाइम्सले जनाएको छ। उनले सन् २००८ देखि २०१८ सम्म अकुत सम्पत्ति आर्जन गरेको जनअदालतमार्फत पुष्टि भएको छ।

भ्रष्टाचार निगरानी राख्ने चिनियाँ कम्युनिष्ट पार्टीले सन् २०१८ मा जियाओमिनविरुद्ध सम्पत्ति खोजतलास गर्ने काम गरेको हो। उनलाई लगतै चिनियाँ कम्युनिष्ट पार्टीको सामान्य सदस्यबाट समेत निष्कासन गरिएको थियो।

टियानजि अदालतका अनुसार जियाओमिनले पदको चरम दुरुपयोग गरी एक दशकमा असामान्य रुपमा भ्रष्टाचार गरेको ठहर छ। उनलाई मृत्युदण्ड दिएसँगै भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति सरकारले जफत गर्ने छ। 

‘चीन हुआरोंग एसेट  म्यानेजमेन्ट लिमिटेड’  चीन सरकारको स्वामित्व भएकाे कम्पनी मध्य एक हो। पछिल्लो समय चिनियाँ सरकारले आर्थिक भ्रष्टाचारलाई ठुलो अपराध मान्ने गरेको छ।

जियाओमिनलाई फाँसी दिनुअघि एकजना नातेदारसँग भेट्न अनुमति दिएको टाइम्सले जनाएको छ। 
    


 

प्रकाशित मिति: : 2021-01-29 23:32:00

प्रतिकृया दिनुहोस्