स्वास्थ्यकर्मी भन्छन् : ‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’

नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनु पर्दा चिन्तित रहेका सर्वसाधारणदेखि स्वास्थ्यकर्मी अहिले खोप उपलब्ध भएपछि उत्साही बनेका हुन् ।

भारतले अनुदानमा दिएको १० लाख डोज खोप माघ १४ देखि बागलुङमा समेत लगाउन थालिएको छ । स्वास्थ्यकर्मी, सफाइ तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप लगाउन थालिएको छ । कोरोनाको निकै जोखिमपूर्ण अवस्थामा परिवारबाट समेत अलग्गै बसेर जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीले खोप लगाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको प्रतिक्रिया दिएका छन् ।

बागलुङमा पहिलो खोप लगाउने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा दिवाकर पराजुलीले आफूले खोप लगाएर ढुक्क भएर जनताको सेवामा खटिन पाउँदा खुशी लागेको बताउनुभयो । “कतिपय स्वास्थ्यकर्मी नै मृत्यु हुनु भएको खबर आउँदा परिवारमा समेत पीडा हुने गरेको थियो”, डा पराजुलीले भन्नुभयो, “जिल्लामै पहिलोपटक कोरोना खोप लगाउन पाउँदा भाग्यमानी ठानेको छु ।”

प्रकाशित मिति: : 2021-01-30 07:58:00

प्रतिकृया दिनुहोस्