सतीदेवीको हृदयको खोजी गर्दै ‘प्राचीन सिन्धुली’

देशसञ्चार

काठमाडाैं

भनिन्छ, ‘आफ्नो पहिचान बुझ्न इतिहास बुझ्नैपर्छ। इतिहास बिर्सने व्यक्तिलाई वर्तमानले समेत चिन्दैन।’ यही कुरालाई हृदयंगम गर्दै हरेक मानिस आफनो इतिहासलाई साक्षी राखेर नयाँ कुराको खोज गर्ने गर्दछ र उसले आफ्नो पहिचान र इतिहासलाई पुस्तान्तरण र हस्तान्तरण गर्न चाहन्छ। दुर्भाग्‍य आज एउटा पवित्र देवभूमि प्रचीन सिन्धुली आफ्नै इतिहासको खोजी गरिरहेको छ, माटोको माया र पहिचानको पदचाप बोकेर।

गोलञ्जोर गाउँपालिका-५, सिन्धुली निवासी गोविन्द गोदार थापाले आफ्नो जन्मभूमिलाई साक्षी मानेर खोजमूलक धार्मिक तथा ऐतिहासिक कृति प्रकाशन गरेर समयले लेख्न छुटाएको कथाभित्र सतीदेवीको हृदयको खोजी ‘प्राचीन सिन्धुली’ मार्फत गरेका छन् ।

नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्नु अगावै थापाले वि.सं. सन् २०१८ मै गोलञ्जोर गाउँपालिका र सिन्धुली जिल्लाको धार्मिक आस्थाको केन्द्र, ऐतिहासिक महत्वसहित वर्तमान सिन्धुलीको अवस्था र आउँदो समयका लागि विकासको खाका समेत अध्‍ययन गर्न मिल्ने गरी सरल र सहज ढंगमा पस्किदिएका छन्।

अहिलेको २१ औँ शताब्दीमा प्राचीनताको नजरबाट नियाल्दा पौराणिक श्लोक, श्रुति तथा गौरवगाथाहरुको समायोजन यस पुस्तकमा गरिएको छ जुन निक्कै रोचक तथा खोजमूलक रहेको छ। त्यहाँको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय रुपमा पर्यटको विकासको योजनाका सन्दर्भमा लेखिएका यो पुस्तकले देशका अन्‍य नगरपालिका तथा गाउँपालिकाको पर्यटन विकासका लागि समेत सहयोगीको भूमिका मात्रै होइन, आ-आफ्नो क्षेत्रको धार्मिक,ऐतिहासिक र सांस्कृतिक सम्पत्तिको उजागर गर्ने प्रेरणा, पहिचान र पवित्र भूमिलाई चिन्‍ने अवसर जुटाइदिएको छ।

प्रकाशित मिति: : 2021-01-30 21:58:00

प्रतिकृया दिनुहोस्