मेसी र बार्सिलोनाबीच खेल इतिहासकै ठूलो सम्झौंता भएको खुलासा

बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीले क्लब छोड्ने हल्ला चलिरहेको बेला स्पेनको चर्चित अखबार ‘अल मन्डो’ ले अर्को सनसनीखेज समाचार सार्वजनिक गरेको छ।

‘अल मन्डो’ का अनुसार मेसीले २०१७ मा बार्सिलोनासँग ५५ करोड ५० लाख युरो अर्थात करिब ७८ अर्ब ५० करोड रुपैयाँको सम्झौंतापत्रमा हस्ताक्षर गरेका थिए। खेल इतिहासमा यो अहिलेसम्मकै ठूलो सम्झौंता हो।

अखबारले क्लब र मेसीबीच भएको ३० पेज लामो सम्झौंताको कपी आफूलाई प्राप्त भएको दावी गरेको छ। मेसीले ४ वर्षको सम्झौंता समाप्त हुँदा कूल ५५ करोड ५० लाख युरो प्राप्त गर्नेछन्। सम्झौंतापत्रमा केही सर्त पनि समावेश छ।

‘अल मन्डो’ का अनुसार मेसीले प्रत्येक सिजनको १३ करोड ८० लाख युरो पारिश्रमिकको रुपमा पाउने सम्झौंतापत्रमा उल्लेख छ। मेसीले सम्झौंतापत्र नवीकरण गर्दा ११ करोड ५२ लाख २५ हजार युरो बोनसस्वरुप प्राप्त गरेको पत्रिकाले बताएको छ। क्लबप्रति निष्ठा देखाएको कारण उनले ७ करोड ७९ लाख २९ हजार ९ सय ५५ युरो बोनसबापत थप प्राप्त गरेको बताइएको छ।

‘अल मन्डो’ ले हालसम्म मेसीले ५१ करोड १५ लाख ४० हजार ५ सय ४५ युरो कमाई सकेको बताएको छ। ‘उनको सम्झौंता ५ महिनामा समाप्त हुँदैछ। बार्सिलोनासँग मेसीको सम्झौंता आउँदो जुनमा समाप्त हुनेछ। यसपछि उनले क्लब छोड्न सक्छन्,’ पत्रिकामा उल्लेख छ।

मेसीले १६ वर्षअघि बार्सिलोना क्लबबाट डेब्यु गरेका थिए। १६ अक्टुबर २००४ मा उनले डेब्यु गर्दा १८ वर्ष उमेर थियो। उनी उपस्थित बार्सिलोनाले १० वटा ला लिगा र ४ वटा च्याम्पियन्स लिगसहित ३४ वटा उपाधि जितिसकेको छ।

प्रकाशित मिति: : 2021-01-31 21:07:00

प्रतिकृया दिनुहोस्