दोहोरोपना हटाउन विकास साझेदारसँग छलफल

आर्थिक अभियान

कर्णाली प्रदेश योजना आयोगले एकद्वार प्रणालीद्वारा कार्यक्रम सञ्चालन र कार्यान्वयन गर्न विकास साझेदारहरुसँग अन्तरक्रिया गरेको छ। 

वीरेन्द्रनगरमा आयोगले प्रदेशमा कार्यरत विकास साझेदारसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरी दोहोरोपना हटाउन विकास साझेदारसँग एकद्वार प्रणालीमा लगानी गर्न छलफल गरेको हो। 

कर्णालीको विकास र समृद्धिका लागि निर्माण भएको पञ्चवर्षीय योजनामा प्राथमिकतामा परेका योजनाको अपनत्व विकास साझेदारले लिनुपर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायले बताए।  

प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्काले कर्णालीको आवश्यकता तथा महत्वसँग जोडिएका योजना र कार्यक्रम ल्याउन विकास साझेदार संस्थाहरुलाई आग्रह गरे। 

समाजमा रहेका असमानता, विभेद, कुसंस्कारलाई सुधार गर्न योजना तथा कार्यक्रम वैज्ञानिक हुनुपर्ने भन्दै खड्काले दोहोरोपना नहुने गरी सबै विकास साझेदारले योजना तथा कार्यक्रम निर्माण तथा कार्यान्वयन गर्नुपर्ने बताए।

प्रदेशलाई कार्यक्षेत्र बनाई कार्यक्रम सञ्चालन गरिरहेका साझेदारको कार्यक्रम र कार्यान्वयन अवस्थाका बारेमा जानकारी आदानप्रदान गर्ने, विकास साझेदारका कार्यक्रमलाई सरकारका योजना तथा कार्यक्रममा मूल प्रवाहीकरण गर्ने र कार्यक्रम कार्यान्वयनमा रहेको दोहोरोपना, समन्वय र प्रतिवेदनको अवस्थाबारे छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रदेश योजना आयोगका सदस्य चिकित्सक दीपेन्द्र रोकायाले जानकारी दिए। 

कार्यक्रममा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले प्रदेशमा कार्यरत सरोकारवालाको कार्यक्रम कार्यान्वयनको अवस्थाबारे जानकारी प्रस्तुत गरेका थिए।  

कर्णालीको पहिचान र परिचालनमा छुटेका अरू विकास साझेदारको खोजी गरी लगानीको आकर्षण बढाउन विकास साझेदारको भूमिका महत्वपूर्ण हुने प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले बताए। 

प्रदेश योजना आयोगले तयार गरेको परियोजना बैंकमा विकास साझेदारहरुले अध्ययन गरेका परियोजना समावेश गर्नका लागि सहयोगको अपेक्षा गरिएको रोकायाले बताए।  

कर्णालीको लगानी सम्मेलनमा सामाजिक क्षेत्रमा गरिने लगानीका लागि विकास साझेदारबाट सहयोग आवश्यक भएको प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीले बताए। नमूना परियोजना साझेदार गरी कर्णालीको काम गरेर अगाडि बढेमा प्रभावकारी हुने उनको भनाइ थियो। 

कार्यक्रममा सहभागी विकास साझेदार संस्थाका प्रतिनिधिले आगामी योजना निर्माण तथा कार्यान्वयनमा एकरुपतामा जाने प्रतिबद्धता व्यक्त गरेका छन्।

छलफलमा भाग लिँदै किसान दुई परियोजनाका कलष्टर म्यानेजर नवराज आर्चायले कर्णालीमा विकास साझेदारले आफ्नो लगानी गर्दा दोहोरोपन नहुने तथा प्रदेश सरकारले तयार गरेको मोडेलमा आगामी योजना निर्माण तथा कार्यान्वयनमा एकरुपता हुने गरी काम गर्ने प्रतिबद्धता जनाए।

प्रदेशमा रहेका विकास साझेदारको परियोजना र लगानीको अवस्थाबारे कर्णालीमा विकास साझेदार नामक प्रोफाइल प्रकाशन पनि गरिने योजना आयोगले जनाएको छ। रासस 
 

प्रकाशित मिति: : 2021-02-01 20:52:00

प्रतिकृया दिनुहोस्