प्रदेशमा कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहको रणनीति

त्रिभुवन विश्वविद्यालयको कानुन संकायअन्तर्गत एलएलबीमा तीन शैक्षिक सत्रको भर्ना एक वर्षमै हुने भएको छ । भर्ना हुने विद्यार्थी संख्याको विषयमा भएको विवादका कारण दुई वर्षअघि प्रवेश परीक्षाको फारम भरेका विद्यार्थीले समेत भर्ना पाएका थिएनन् ।

रोकिएको भर्ना खुलेसँगै ०७५ देखि ०७७ सम्मका तीन शैक्षिक सत्रको भर्ना अब एक वर्षभित्रै हुनेछ । शैक्षिक सत्र ०७५ को भर्ना यही महिना हुनेछ । तीनवर्षे एलएलबी अध्ययनका लागि सबैभन्दा बढी चाप हुने त्रिविको आंगिक नेपाल ल क्याम्पसमा शनिबार प्रवेश परीक्षा भएको छ । त्यस्तै, आगामी चैतमा शैक्षिक सत्र ०७६ को भर्ना लिने तयारी छ । त्यसपछि असोजमा शैक्षिक सत्र ०७७ को भर्ना लिने त्रिविको तयारी छ । 

शैक्षिक सत्र ०७५ मा भर्नाका लागि प्रवेश परीक्षाको प्रक्रिया सुरु भएपछि विद्यार्थीले खुला भर्ना गर्नुपर्ने माग गर्दै २६ वैशाख ०७६ मा नेपाल ल क्याम्पसमा तालाबन्दी गरेका थिए । अर्कोथरी विद्यार्थीले खुला भर्ना गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरे । अदालतले क्याम्पसको क्षमता यकिन गरेर भर्नाको संख्या तोक्न अन्तरिम आदेश दियो । त्यसपछि त्रिविले कानुनी शिक्षाको सुधार, पुनरावलोकन र परिमार्जनका लागि राय–सुझाब पेस गर्न प्रा.डा. पूर्णमान शाक्यको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । समितिको प्रतिवेदनकै आधारमा त्रिविको प्राज्ञिक परिषद्ले क्याम्पसमा विद्यार्थी कोटा तोक्दै भर्ना प्रक्रिया खुलाएको हो ।

अब प्रत्येक वर्ष नेपाल ल क्याम्पसमा ६ सय र त्रिविका अन्य आंगिक क्याम्पसमा तीन–तीन सय विद्यार्थीले मात्र भर्ना पाउनेछन् । नेपाल ल क्याम्पससहित त्रिविका आंगिक बुटवल बहुमुखी, पोखराको पृथ्वीनारायण, धरानको महेन्द्र बहुमुखी, राजविराज बहुमुखी, नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा एलएलबी कार्यक्रम सञ्चालन छ ।

नेपाल ल क्याम्पसका प्रमुख डा. डिएन पराजुलीले भर्ना हुन ढिलाइ भए पनि त्रिविको शैक्षिक सत्र खेर नजाने बताए । आगामी असोजसम्म तीनवटै शैक्षिक सत्रको भर्ना लिने उनले बताए । त्रिवि कानुन संकायका डिन प्रा.डा विजयसिंह सिजापतिले भर्नामा भएको जाम खुलेको र अब अरू शैक्षिक सत्रका विषयमा क्याम्पस प्रमुखहरूसँग छलफल गरेर अघि बढ्ने बताए । 

अब तीनवर्षे एलएलबी अध्ययन गर्ने विद्यार्थी नियमित कक्षामा उपस्थित हुनुपर्नेछ । यसअघि ठूलो संख्यामा विद्यार्थी भर्ना भए पनि कक्षामा नआउने र परीक्षामा समेत कम सहभागी हुने समस्या थियो । अब भने ७५ प्रतिशत हाजिर हुनुपर्नेछ ।

त्रिविले गठन गरेको समितिले भर्ना लिएका विद्यार्थीका लागि हाजिर अनिवार्य गर्ने र ७५ प्रतिशत उपस्थित नहुनेलाई परीक्षामा सहभागी हुन नदिने व्यवस्था गर्न सुझाब दिएको छ । त्यस्तै, डिन कार्यालयबाट निर्धारण गरिने मापदण्डका आधारमा हरेक कलेजको भौतिक संरचना तथा शिक्षक संख्याको मूल्यांकन गरेर मात्र तीनवर्षे स्नातक तहमा भर्ना लिन समितिको सुझाब छ ।

ल क्याम्पसलगायत क्याम्पसमा ०७५ चैत र ०७६ मंसिरमा प्रवेश परीक्षाको फारम भरिएको थियो । ०७५ र ०७६ मा गरी नेपाल ल क्याम्पसमा भर्ना हुन दुई हजार आठ सय विद्यार्थीले फारम भरेका थिए । उनीहरूको प्रवेश परीक्षाबाट जम्मा ६ सय विद्यार्थीले भर्ना पाउनेछन् । ०७४ मा १० हजार आठ सय ६३ विद्यार्थी भर्ना भएका थिए । 

प्रकाशित मिति: : 2021-02-02 07:01:00

प्रतिकृया दिनुहोस्