आर्थिक पुनर्उत्थानको निम्ति सामूहिक प्रयास आवश्यकः गभर्नर अधिकारी

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरस सङ्क्रमणका (कोभिड–१९) कारण अर्थतन्त्रमा देखिएको चुनौती सामना गरी समावेशी र दिगो आर्थिक पुनर्उत्थान हासिल गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

एलायन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआई) द्वारा आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कसैको एक्लो प्रयासबाट मात्रै यो महामारीले निम्त्याएको सङ्कटलाई सम्बोधन गर्न संभव नहुने बताए।

'अतः समावेशी र दिगो आर्थिक पुनरुत्थानको निम्ति सरोकारवाला सबै पक्षको पहल आवश्यक छ, सामूहिक समर्पणको भावनाबाट मात्रै त्यो सम्भव देखिन्छ,' उनले भने।

कोभिड–१९ द्वारा सिर्जित सङ्कटको नकारात्मक प्रभाव केही समयसम्म देखिन सक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसबाट अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सम्बोधन गर्नका निम्ति प्रभावकारी र व्यावहारिक कार्यदिशा अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिए।

'बितेको एक वर्षमा सामुहिक नीति र नियामकीय अभ्यासले कतिपय जोखिमको न्यूनीकरणमा महत्वपूर्ण भूमिका निभाएको छ', उनले भने, 'यो अवधिमा हामीले समाजको सर्वाधिक जोखिममा रहेका वर्गको संरक्षणका निम्ति केही प्रयास गरेका छौं। यसलाई अझ प्रभावकारिताका साथ निरन्तरता दिन आवश्यक छ।'

उक्त बैठकमा कोरोना महामारी र नेपालको सन्दर्भबारे चर्चा गर्दै गभर्नर अधिकारीले नेपालको पर्यटनसँगै लघु, साना र मझौला उद्यम–व्यवसाय बढी प्रभावित बनेको धारणा राखे।

गभर्नर अधिकारीले यसलाई सम्बोधन गर्न नियामक निकायको हैसियतमा नेपाल राष्ट्र बैंकले सहजीकरणको निम्ति विभिन्न नीतिगत व्यवस्था अवलम्बन गरेको जानकारी दिए।

कोभिडबाट प्रभावित व्यवसायलाई राहतस्वरूप बैंक तथा वित्तीय संस्थामामार्फत पुनरकर्जा सुविधा उपलब्ध गराइएको र सो अवधिमा विद्युतीय माध्यममार्फत हुने भुक्तानी कारोबारलाई प्रबर्द्धन गरिएको उल्लेख गरे।

सो अवसरमा गभर्नर अधिकारीले समाजका महिला, विपन्न, अदक्ष श्रमिक, लघु तथा साना उद्यमी र त्यहाँ काम गर्ने श्रमिकको आर्थिक तथा सामाजिक उत्थानमा टेवा पुग्नेगरी नीतिगत व्यवस्था अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिए।

एएफआईका सदस्य मुलुकमा अवलम्बन भएका नीतिगत र कार्यगत अभ्यासको अनुभव आदानप्रदानमा उक्त बैठक फलदायी हुने विश्वाससमेत उनले व्यक्त गरे। बैठकमा एएफआईका सदस्य रहेका केन्द्रीय बैंकका गभर्नर र उच्च अधिकारीहरूसहित ३३ जनाको सहभागिता थियो।

प्रकाशित मिति: : 2021-02-05 14:11:00

प्रतिकृया दिनुहोस्