बुवाको देहान्तपछि पनि अविचलित भागरथीको अधुरै रह्यो सरकारी जागिर खाने सपना

पहिलोपोष्ट

काठमाडाैं

 

कैलाली : गत पुस ७ गते बुवाको देहावसान भएपछि घर मूलीको जिम्मेवारी १७ वर्षीया भागरथी भट्टको काँधमा आइपुग्यो। १७ वर्षकै उमेरमा उनको परिपक्वता र लगनशीलता देखेर गाउँ नै अचम्मित थियो। दीर्घ रोगले ग्रसित बुवाको मृत्युपछि पनि विचलित नभएर आमा र दाइको समेत सहारा बनेकी भागरथीको सपनामाथि गत २१ गते बुधवार तुषारापात भयो। विद्यालयबाट घर फर्किने हतारोमा रहेकी भागरथी कहिल्यै नफर्किने भइन्।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी गाउँको सनातन धर्म माध्यमिक विद्यालयमा व्यवस्थापन सङ्काय अन्तर्गत १२ कक्षामा लेखा विषय लिएर अध्ययनरत थिइन्। उनका काका पर्ने छिमेकका शिवराज भट्टका अनुसार भागरथीका बुवाको मृत्युपछि परिवारको सहारा नै उनी थिइन्।

‘दाजु (भागरथीका बुबा)को मृत्यु पछि शोकमा डुबेकी भाउजू (भागरथीकी आमा) र भतिजा केशवराज भट्ट (भागरथीका दाइ)को एक्ली सहारा थिइन् उनी’, उनले भने, ‘पढाइका लागि चडेपानीबाट लेखा विषय पढ्न जाने उनी मात्रै एक्ली विद्यार्थी थिइन्। एक्लै आउजाउ गर्नुपर्ने लामो तथा जङ्गलको बाटो भएका कारण उनको हत्या गरियो।’

उनका अनुसार भागरथीले गाउँबाट विद्यालय जान दिनदिनै एक घण्टा जाने बेला र सवा घण्टा आउनेले बेला पैदल हिड्नुपर्थ्यो। जाने समयमा बिहान अरू विद्यार्थी पनि हुने तर फर्किँदा उनको विषय फरक भएकाले अरूभन्दा पौने घण्टा अघि नै घर फर्किन्थिन् भागरथी।

‘घर परिवारमा सबैभन्दा जिम्मेवार, जस्तो सुकै समस्याबाट बिचलिन नहुने उनको स्वभाव थियो’, उनले भने, ‘पढाइमा राम्रो गर्दै गएकी भागरथीको सरकारी जागिर खाने धोको अधुरै रह्यो।’

गत बुधवार गाउँपालिकाको केन्द्रसमेत रहेको विद्यालय नजिकैको खोचलेक बजारमा २ बजे देखिएकी उनी त्यसपछि दोस्रो दिन मृत फेला परिन्। गाउँका भाइहरूलाई सँगै जाऊ भनेकी उनी जाने कोही नपाएपछि एक्लै घर आउन हिँडेकी थिइन्।

दोस्रो दिन विद्यालयबाट अनुमानित साढे दुई किलोमिटर र घरबाट डेढ किलोमिटरको बीचमा वीभत्स हत्या गरिएको अवस्थामा उनको शव फेला परेको भट्टले बताए।

प्रकाशित मिति: : 2021-02-07 10:17:00

प्रतिकृया दिनुहोस्