हुम्लाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम

रासस

सिमकोट
File Photo
File Photo

जिल्ला निर्वाचन कार्यालय हुम्लाले यहाँका स्थानीय तहमा रहेका गाउँ-गाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ।

सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

चुनावमा मत बदर नहोस् भन्नका लागि ती कार्यक्रमले सहयोग पुग्ने कार्यालयका प्रमुख महेशकुमार थापाले जानकारी दिए। उनले भने, 'कक्षा आठ, नौ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका हौँ।'

विद्यार्थीमार्फत अभिभावकलाई मतदान गर्ने सही तरीका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ। कार्यक्रममा २०० भन्दाबढी विद्यार्थी सहभागी रहेका छन्।

निर्वाचन कार्यालयको कार्यक्रमअनुसार जिल्लाका छ वटा विद्यालय सिमकोट गाउँपालिकाको मानसरोवर मावि, बालमन्दिर मावि, कैलाश मावि, रलिङ मावि, रामदेव मावि र नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङमा यो कार्यक्रम सञ्चालन भएको हो।

प्रकाशित मिति: : 2021-02-07 14:17:00

प्रतिकृया दिनुहोस्