उत्तराखण्डमा साढे सात वर्षपछि पुनः विपत भित्रिएको छ। चमोलीको रैणी गाउँमा रहेको हिमताल फुट्दा १ सय ७० जनाको निधन भएको आशंका गरिएको छ।
चमोली जिल्लामा कूल ३ दशमलव ९० लाख मानिस बसोबास गर्छन। हरियो डाँडोको रुपमा प्रसिद्धि कमाएको यो ठाउँमा बिहान १० बजे विपत्ति आइपरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। तपोवनदेखि रैणी गाउँसम्म सप्तऋषि र चम्बा पहाड रहेको छ। यही पहाडलाई छिचोल्दै हिमताल फुटेर आएको पानी ऋषिगंगा नदीमा मिसिएको थियो। जसका कारण बाढी आएको थियो। यही बाढीले मरिन्डा जंगल बिनास गरेको छ।
स्थानीय चमोली गाउँको सरकारी कलेजका प्रोफेसर डा. वीपी भट्ट र परीक्षा नियन्त्रक डा. अखिलेश कुकरेतीले बाढीबाट १५–२० हेक्टरको जंगल सखाप भएको बताए।
हिमताल फुट्दा भारत–चीन जोड्ने एकमात्र पुल पनि बगाएर लगेको छ। पुल भत्किँदा १२ वटा गाउँमा प्रवेश गर्ने बाटो बन्द भएको छ। घास काट्न गएका ३० महिलालाई बगाएर लगेको स्थानीयले बताए। यस्तै, कालि मन्दिर र एनटीपीसीको हाइड्रो प्रोजेक्ट पानीले भरिएको छ। यहाँ करिब २ सय व्यक्ति हराएको आशंका गरिएको छ।
सन् २०१३ को जुन १६–१७ मा आएको विपत्तिमा पनि रुद्रप्रयाग, चमोली, उत्तरकाशी, बागेश्वर, अल्मोडा, पिथौरागढ जिल्लामा विध्वंस मच्चिएको थियो। यतिबेला ४ हजार ४ सय मानिस मारिएका थिए। ४२ सय गाउँको सम्पर्क विच्छेद भएको थियो। ११ हजार ९१ गाईवस्तु बगेर नस्ट भएका थिए।