काँडाको बाटो... (भिडियोसहित)

उनी भर्खर हिँड्न सिक्दैथिइन। तोते बोलीमा भाषिक लवज टिप्न थाल्दैथिइन। रंगका नामहरु जान्दैथिइन। बिस्तारै मानिसका अनुहार ठ्म्याउन थालेकी थिइन। दिन र रात, तातो र चिसो अनि नजिक र टाढा भेउ पाउदैथिइन। तर, शैशव क्रिडालाभ पूरापुर अनुभव गर्न नपाउँदै आधा काख गुमाउनु पर्यो। उनी दुई बर्षको हुँदा बुवाको हत्या भयो।

उनले यो धरतीमा पाइला टेक्दा यहाँ बहने हावा स्वच्छ थिएन। त्यहाँ बारुदको गन्ध सघन थियो। कालो धुँवाका मुस्लोले आकाश मैलिएका थिए। आफ्नो किल्ला जमाउन मान्छेहरु मारिँदै थिए, मार्दैथिए। आहत र चित्कारमा चिथोरिएर कुरुप बनेको थियो परिस्थिति। सन् १९४५ मा रंगुनको यस्तै परिवेशमा एक दिन आङ सान सु कीको जन्म भयो। यतिबेला दोश्रो विश्व युद्ध उत्कर्षमा थियो।

उनका बाबु आङ सान राष्ट्रप्रेमी योद्धा थिए। शासनका लागि आफ्नो उपनिवेशका भू-क्षेत्र बिस्तार गरी शक्तिशाली बनाउने होडमा लागेका थिए। जापान र ब्रिटेनले बर्मालाई रणभूमी बनाएको थियो। ब्रिटिसकालमा बर्मा बेलायतको उपनिवेश थियो भने जापान यस देशलाई कब्जामा लिन आक्रमण गरिरहेको थियो। हो त्यहिँ बेला स्वतन्त्र बर्माको सपना बोकेर अघि बढेका युवा थिए, आङ सान। ब्रिटिस शासनबाट मुक्त गरेर स्वतन्त्र बर्मा बनाउने उनको अभियानमा जापानबाट सहयोगको आश्वासन पाएका थिए उनले। 

त्यसैबेला उनले बर्मामा पहिलो सशस्त्र सेना गठन गरे। त्यो सेनामा उनी सहित ३० जना समावेश थिए। तर पछि जापानले बर्माको स्वतन्त्रता अभियानमा सहयोग गर्ने छाँट देखाएन। 

सन् १९४७ मा बर्मामा आम निर्वाचन हुने भयो। तर निर्वाचनसँगै मुलुक स्वतन्त्र हुनुभन्दा ६ महिनाअघि प्रतिष्पर्धीद्वारा सान सहित उनका धेरै सहपाठीको रंगुनमा हत्या भयो। आङ सान बर्मा (सन् १९८९ मा बर्माको नाम फेरेर म्यान्मार बनाइएको हो।) का राष्ट्रपिता हुन्। 

बुवाको हत्यापछि सु कीको पालन पोषण दुई भाईसँगै आमा खिन कीले गर्दैथिइन। एकदिन रंगुनस्थित घर नजिकैको पोखरीमा डुबेर उनका भाई आङ सान लिनको ज्यान गयो। त्यसपछि उनको परिवार एउटा गाउँमा बसाइँ सरेको थियो। सु कीले त्यहीँको एउटा बिद्यालयमा माध्यमिक शिक्षा हासिल गरिन्। त्यहाँ रहँदा उनले धेरैथरीका मानिससँग संगत गर्ने अवसर पाइन। र त्यहीँ धार्मिक तथा राजनीतिक चेतको विकास भयो। सन् १९६० मा उनकी आमा खिन की भारत तथा नेपालका लागि राजदूत नियुक्त भएपछि भारतको एउटा कलेजमा सु कीको अध्ययन सुरु भयो। जतिबेला उनी लण्डनको एउटा विश्वविद्यालयबाट बर्मेली साहित्यमा एमफिलको अध्ययन गर्दै थिइन, आमा खिन सिकिस्त बिरामी परिन। बयोबृद्ध आमाको आखिरी दिनमा स्याहारका निम्ति उनी १९८८ मा बर्मा फर्किइन्।

विदेशी शक्तिको पञ्जाबाट मुक्त भए पनि तत्कालीन सैन्य जुन्ता शासकले देशको नाम फेरेर म्यान्मार बनाए पनि त्यहाँका आम जनताले निजी स्वतन्त्रताको सास फेर्न अझै पाएका छैनन्। आङ सानको हत्यापछि बर्मामा जुन्ताले शासन गरेको थियो। म्यान्मार फर्किएपछि सु की प्रजातान्त्रिक आन्दोलनमा होमिइन्। देशमा प्रजातन्त्र स्थापनाका निमित्त लाखौंलाख मानिस आन्दोलनमा सरिक भए। हुकुमी सैनिक शासन हल्लियो। सत्ता उल्टिने भयले व्यापक धरपकड सुरु भयो। सन् १९८९ मा जुन्ताले आङ सान सु कीलाई नजरबन्दमा राख्यो। उनका सन्तान र श्रीमानलाई समेत भेट्न निषेध गरियो।

विदेशमा रहेका उनका पति एरिस क्यान्सर पीडित थिए। उनी सिकिस्त भएपछि उनीहरुलाई भेट्न दिन संयुक्त राष्ट्रसंघले समेत आग्रह गर्यो। तर जुन्ता सरकारले पुन: म्यान्मार नफर्किने सर्तमा मात्र सु कीलाई जानदिने बतायो। सुकीले सर्त अस्वीकार गरिन्। उनको ५३औं जन्मदिनका दिन सन् १९९९ मा एरिस बेलायतमै बिते। सन् १९९५ को क्रिसमसमा अन्तिम पटक एरिस र सु कीको भेट भएको थियो। त्यसपछि जुन्ता सरकारले एरिसलाई म्यान्मार आउन दिएन। उनको भिसा रद्ध गरियो। 

युनिभर्सिटी अफ दिल्लीबाट बीए, युनिभर्सिटी अफ अक्स्फोर्डबाट बीए-एमए अध्ययन गरेकी सु कीले एसओएस युनिभर्सिटी अफ लण्डनबाट एमफिल गरेकी छन्।

उनले लेखेका लेटर्स फ्रम बर्मा, फ्रिडम फ्रम फियर, दि भ्वाईस अफ होप, आङ सान अफ बर्मा, लेट्स भिजिट सिरिज- बर्मा, भुटान, नेपाल पुस्तकहरु प्रकाशित छन्।

सन् २००८ को मे महिनामा म्यान्मारका जनतालाई अर्को बिपत्ति आइपर्यो। म्यान्मारको ईतिहासमै सबभन्दा बिनाशकारी चक्रवात आँधीले तहसनहस बनायो। नरगिस नामक उक्त आँधीले कम्तिमा १ लाख ३८ हजार भन्दा बढी मानिसको ज्यान लियो। सो चक्रवात आँधीले म्यान्मारको लबत्ता शहरमा मात्र ८० हजार मानिसको मृत्यु भयो। ५५ हजार मानिस हराए। यद्यपि तत्कालीन म्यानमार सरकारले आधिकारिक मृत्युको संख्या कम जानकारी दिएको हुनसक्ने बताइन्छ। सरकारी अधिकारीले मृतकको संख्या १ लाख ३८ हजार नाघेपछि विवरण सार्वजनिक गर्न बन्द गरेको थियो। सो घातक आँधीका कारण सु कीको घर पनि क्षतिग्रस्त भएको थियो। घरको मर्मत गर्नैपर्ने भएकोले सन् २०१० को अन्त्यतिर सु कीलाई नजरबन्दबाट फुकुवा गरियो। बेलायतमा बस्दै आएका आफ्ना छोरालाई सुकीले ११ बर्षपछि फेरि भेट्न पाएकी थिइन। 

सन् २०१० को नोभेम्बरमा चुनाव भएपछि जुन्ता सरकार सु कीलाई  नजरबन्दबाट मुक्त गर्न मन्जुर भयो। त्यसपश्चात बर्माको राजनीतिमा केही परिवर्तन देखिएको थियो। म्यान्मारका प्रजातन्त्र प्रेमी जनताको साथले सु कीको नेशनल लिग फर डेमोक्रेसी पार्टी शक्तिशाली बन्यो र सत्तामा पुग्यो। उनी मुलुकको राज्य सल्लाहकार एवं परराष्ट्र मन्त्री बनिन्। तर म्यानमारको सेनाले सन् २०१७ मा त्यहाँका अल्पसंख्यक रोहिंग्या समुदायमाथि हिंसा गर्यो। कैयौं रोहिंग्या देशबाट लखेटिए। तब उनलाई रोहिंग्याप्रति अनुदार रहेको आरोप लाग्यो। उनीबिरुद्ध अन्तर्रास्ट्रिय फौजदारी अदालतमा मानवता बिरोधी अपराधमा मुद्धा चलिरहेको छ। 

यसैबीच बारम्बार धोका दिँदै आएको सेनाले १ फेब्रुअरीमा फेरि सुकीलाई गिरफ्तार गरेको छ। म्यान्मारका प्रजातन्त्र पक्षधर जनता र अन्तर्रास्ट्रिय समुदायले उनलाई तत्काल रिहा गर्न दबाब दिइरहेका छन्। तर म्यान्मारमा प्रजातन्त्र स्थापनाका निम्ति प्राय: जीवनभर काँडाको बाटोमा निडरतासाथ हिँडेकी उनको अवस्था अज्ञात छ।

प्रकाशित मिति: : 2021-03-08 11:51:00

प्रतिकृया दिनुहोस्