प्रतिनिधिसभा विघटन: संसद् पुनर्स्थापना नभए सहजरूपमा नलिने प्रचण्डको चेतावनी

बिबिसी

काठमाडाै‌ं

प्रतिनिधिसभा विघटनयता सडक सङ्घर्षमा होमिएको नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव नेपाल समूहका दुवै अध्यक्षले प्रधानमन्त्रीको 'असंवैधानिक कदम नसच्चिए देश राजनीतिक सङ्कटको भुमरीमा पर्ने' चेतावनी दिएका छन्।

काठमाण्डूस्थित विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग मङ्गलवार कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूहरूले थालेको आन्दोलनबारे चर्चा गरेका थिए।

हाल विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको एवम् संविधानको मर्म र भावनाअनुरूप उक्त विघटन उल्ट्याइने विश्वास गरेको उनीहरूले बारम्बार दोहर्याए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद्‌को तल्लो सदन विघटन गरी बैशाखमा नयाँ निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

'सेटिङ को भ्रम'

प्रधामन्त्रीको समूहले निर्वाचन आयोग तथा सर्वोच्च अदालतजस्ता संवैधानिक निकायसँग साँठगाँठ मिलाइसकेको भएर अब संसद् पुनर्स्थापना नहुने दाबी गर्दै हिँडेको प्रचण्डले आरोप लगाए।

"त्यस्ता सेटिङ भएकाबारे हामीलाई विश्वास छैन। तर यदि सेटिङ नै खालको निर्णय भयो भने हामी सामु निकै ठूलो राजनीतिक र नैतिक प्रश्न खडा हुनेछ। त्यसलाई सहज रूपमा लिन सक्दैनौँ," प्रचण्डले भने।

त्यसो भए अदालतले प्रधानमन्त्रीको कदम सदर गरिदिए प्रचण्ड-नेपाल समूहले चुनाव बहिस्कार गर्छ त?

प्रचण्डको जबाफ थियो -"त्यो निर्णय त्यतिबेला नै लिनेछौँ। अहिले नै निष्कर्षमा पुगेका छैनौँ।"

प्रकाशित मिति: : 2021-02-10 06:50:00

प्रतिकृया दिनुहोस्