बाँकेमा बलात्कारका घटना बढ्दै

Photo - CBC Barbados
Photo - CBC Barbados

बाँकेमा पछिल्लो पाँच वर्षयता बलात्कारका घटना बढ्दै गएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार बाँकेमा वर्षेनी बलात्कारका घटना बढ्दै गएको देखिन्छ।

बाँके २०७२/०७३ मा २६ बालिका बलात्कृत भएका तथ्यांकमा देखिएको छ। सो समयमा २३ जनामाथि जबरजस्ती करणी गर्ने प्रयास भएको थियो । एक वर्षपछि त्यसको संख्या बढेको छ।  

आव २०७३/०७४ मा बाँकेमा  बलात्कृत हुने महिला तथा बालिकाको संख्या ३९ पुग्यो।  उक्त वर्ष २७ जनामाथि बलात्कार प्रयास भएको उजुरी जिल्ला प्रहरी कार्यलयमा परेको थियो। ०७४/७५ मा ३५ जना महिलामाथि बलात्कार भएको  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए। उनका अनुसार  ३१ महिलालाई जबरजस्तीको प्रयास गरिएको मुद्दा दर्ता भएको थियो।  

गत आर्थिक वर्ष २०७६/०७७ मा मात्रै बाँकेमा ५२ जना महिलामाथि बलात्कार भएको उनको भनाइ छ। ती मध्ये १० जनामाथि जवरजस्तीको प्रयास भएको देखिएको छ।

बाँकेमा कोरोना संक्रमणमा भएको लकडाउनको समयमा मात्रै २१ जना महिला बलात्कृत भए। जेष्ठ, असार, श्रावण महिना चार/चार र चैत्र र बैशाखमा दुई/दुई वटा बलात्कारका घटना भएका थिए। ‘यसका कारण मदिरापान, मानसिक रोगी र अपराधिक मानसिकता नै देखिएका छन्। परिचित व्यक्तिहरुबाट महिलाहरु बलात्कृत हुने गरेको पाइएको छ। हामी यस्ता विषयमा गम्भीर छौं’, रानाले भने।

प्रकाशित मिति: : 2021-02-10 14:24:00

प्रतिकृया दिनुहोस्