बाँकेमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ 

बाँकेबाट मोटरसाइकल चोरी गरेर पहाडी जिल्लाहरुमा सप्लाई गर्ने गिरोह पक्राउ परेको छ। पछिल्लो समयमा मोटरसाइकल चोरी भएको भन्ने व्यापक जनगुनासोको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले चोरीको गिरोह नै पक्राउ परेको हो।

बुधबार पत्रकार सम्मलेनको आयोजना गर्दै  जिल्ला प्रहरी कार्यालय बाँकेले ६ जनालाई मोटरसाइकल सहित पक्राउ गरेको हो। नेपालगञ्ज २० का  प्रतिक गुरूङले  माघ ५ गते मोटरसाइकल चोरी भएको गुनासो गरेका थिए।

यस्तै पछिल्लो समयमा बाँके जिल्लाको विभिन्न स्थान ‘यातायात कार्यालय, मालपोत कार्यालय,भेरी अस्पताल, नर्सिङ होम अगाडिबाट मोटरसाईकल चोरी भएको गुनासो आउन थालेको थियो। सोही सूचनाको आधारमा कार्यालयबाट मोटरसाइकल चोरी गर्ने व्यक्तिको पहिचान एवम् पक्राउ गर्ने विशेष टोली परिचालन गरिएको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए।

अनुसन्धान गर्दै जाने क्रममा प्युठान जिल्लामा बिक्री गरेको भन्ने जानकारी प्राप्त भएको थियो। प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमाण्डमा प्रहरी टोली खटाई स्थानीय प्रहरीसँग सम्न्वय ६ जनालाई पक्राउ गरिएको उनको भनाइ छ।  

उनका अनुसार पक्राउ पर्नेमा खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरीका ३५ वर्षीय रामबहादुर थापा, जुम्लाको चन्दनाथ नगरपालिकाको कालेखोली घर भइ हाल नेपालगञ्जमा किराना पसल सञ्चालन गर्दै आएका ३१ वर्षीय धिरेन्द्र बिक्रम शाही र  दाङको गढवा गाउँपालिका वडा नम्बर ४ खड्कपुरका वर्कशपका मिस्त्री काम गर्ने इरसाद मुसलमान रहेका छन्।

यस्तै रोल्पा जिल्ला लुग्री गाउँपालिका वडा नम्बर १ पाङका जीप चालक छविलाल पुन मगर, रोल्पा जिल्लाको लुग्री गाउँपालिका  वडा नम्बर ५ गुम्चालका २४ वर्षीय  नवराज रोका क्षेत्री,  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का वर्कसपका मिस्त्री २८ वर्षीय रंजित शर्मा रहेको उनको भनाइ थियो। 

प्रकाशित मिति: : 2021-02-10 18:53:00

प्रतिकृया दिनुहोस्