भद्रकाली अगाडिबाट प्रचण्डले बोलेको विद्रोहको धम्कीपूर्ण भाषा

लोकान्तर

काठमाडाै‌ं

तीन साता नपुग्दै नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उही मञ्चबाट फेरि एकपटक विद्रोहको धम्कीपूर्ण भाषा बोलेका छन् । गएको माघ ८ गते त्यही स्थानमा उभिएर प्रचण्डले भनेका थिए, 'अदालतले जनताको भावना बुझ्नु पर्छ ।' 

२० दिनपछि प्रचण्डले थप आक्रोशित मुद्रामा सर्वोच्च अदालतलाई प्रतिनिधिसभा पुनःस्थापनाका लागि दवाव सिर्जना गर्ने किसिमको अभिव्यक्ति दिएका छन् । भद्रकाली मन्दिरभन्दा अगाडि सैनिक मञ्च टुँडिखेलको बाहिर भृकुटीमण्डप चोकमा बनाइएको मञ्चबाट सिंहदरबार, सर्वोच्च अदालततर्फ फर्केर प्रचण्डले विद्रोहको धम्कीपूर्ण भाषा बोले ।

प्रचण्डको सम्बोधनको प्रत्यक्ष तथा परोक्ष धम्की सर्वोच्च अदालत र निर्वाचन आयोगतर्फ लक्षित थियो । प्रधानमन्त्री एवम् नेकपाको अर्को खेमाका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार निर्वाचन आयोगमा गएर नेकपाको आधिकारिक पार्टी आफूहरु भनेपछि प्रचण्डले अलि बढी निर्वाचन आयोगलाई सन्देश दिन खोजेको बुझ्न सकिन्थ्यो । 

‘यो उपस्थिति सर्वोच्च अदालतका सम्मानित न्यायाधीशले पनि देख्नुभएको छ । जनभावना के छ, तराई, मधेश, पहाड, हिमाल सबैको । आजको यो उपस्थितिले अदालतलाई संविधानसम्मत फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ, हुरी चल्छ । कसैले थाम्न सक्दैन,’ प्रचण्डले बुधबारको सभामा भने ।

प्रकाशित मिति: : 2021-02-11 06:27:00

प्रतिकृया दिनुहोस्