सरकार, हजारौं भागरथीहरु कति बलात्कृत भइरहने ?: डिला संग्रौला

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले देशका हजारौँ निर्मला, सम्झना र भागरथीहरु कति बलात्कृत भइरहने भन्दै सरकारलाई प्रश्न गरेकी छन्। उनले हत्या, हिंसा र बलात्कार कम्युनिष्ट सरकारको चमत्कार भएको बताइन्।

सरकारले बलात्कार दोषीमाथि कारबाही गर्न नसकेको भन्दै उनले मुखदर्शक भएकार बसेको आरोप लगाइन्। बिहीबार कोहलपुरमा भागरथी भट्टको न्यायको लागि भएको विरोध प्रदर्शनमा बोल्दै उनले महिलामाथि हुने गरेका जघन्य अपराधमा समेत सरकारले पीडितलाई न्याय दिन नसकेको  दाबी गरेकी थिइन्।

लायन्स क्लब अफ कोहलपुर कस्तुरी र मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा भएको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्मला पन्त, सम्झना विक र भागरथी भट्टको न्यायको लागि सबै महिला एकजुट हुन समेत अपिल गरेकी थिइन्।

उनी भन्छिन्, ‘नेपाली काँग्रेस भागरथीको न्यायको लागि अघि बढेको छ। हाम्रो टोली स्थलगत अध्ययनको लागि बैतही पुगेको छ। हामी महिला पनि विरोध प्रदर्शनमा उभिएका छौं। निर्मला, सम्झना र भागरथीहरुले न्याय पाउनै पर्छ।दोषी उम्किनु हुँदैन।’

विघठित प्रतिनिधिसभा सदस्य समेत रहेकी संग्रौलाले निर्मला पन्तको हत्या भएको बेलामा सदनमा प्रधानमन्त्री र गृहमन्त्रीलाई निर्मलाका हत्यारा बालुवाटार र सिंहदरबार कहाँ छन् भनेर प्रश्न गरेको समेत स्मरण गरिन्।यस्ता घटनाहरुले दैनिक हजारौ किशोरी र आमाहरुको मन दुःखेको उनको भनाइ थियो।

प्रदर्शनमा विभिन्न विद्यालयका किशोरीहरुको सहभागिता रहेको थियो।उनीहरुले सरकारलाई भागरथीको न्यायको लागि अपराधीलाई तत्काल कारबाही गर्न माग गरेका थिए।

यस्तै कोहलपुर नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बागेश्वरी क्याम्पस इकाई, विप्लब नेतृत्वको अखिल क्रान्तिकारी बाँकेले समेत भागरथी भट्टको न्यायको लागि कोहलपुरमा प्रदर्शन गरेका थिए।



सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द हुँदैन : गगन थापा

जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैन : सभापति देउवा

प्रकाशित मिति: : 2021-02-11 17:45:00

प्रतिकृया दिनुहोस्