भारतीय सिनेमामा एक समय यस्तो थियो, नाम चलेका केही अनुहारले मात्र दर्शकलाई आकर्षित गर्थे। १९४० को दशकमा एउटा यस्तै हिरोइनले हिन्दी सिनेमामा आफ्नो आकर्षक अनुहार र अभिनयले दर्शक लठ्याउन सफल भएकी थिइन। नाम थियो, मधुबाला।
‘मुगल–ए–आजम’ फिल्ममा अनारकलीको प्रभावशाली अभिनय गरेपछि दर्शकहरूको ढुकढुकी बनेकी उनै मधुबालाको आज ८८ औं जन्मदिन हो। मधुबालाको जन्म १४ फेब्रुअरी १९३३ मा दिल्लीको एक पस्तुन मुस्लीम परिवारमा भएको थियो। उनले ९ वर्षको उमेरमै १९४२ मा बाल कलाकारको रुपमा ‘बसन्त’ फिल्मबाट सिनेमामा पाइला टेकेकी थिइन। तर, अभिनेत्रीको रुपमा उनको पहिचान ‘नीलकमल’ फिल्मबाट भयो। १९४७ मा रिलिज यो फिल्मको निर्माण निर्माता केदार शर्माले गरेका थिए।
‘नीलकमल’ को सफलतापछि मधुबालाले १९४७ मा ‘दिल कि रानी’ र १९४८ मा ‘अमर प्रेम’ मा अभिनय गरिन्। यी सबै फिल्म उनले हिन्दी फिल्ममा ‘सो म्यान’ को छवी बनाएका राज कपुरसँग अभिनय गरेकी थिइन।
मधुबालाको सानोको नाम मुमताज बेगम जहाँ देहलवी थियो। उनी बुवा–आमाकी पाँचौं सन्तान थिइन। यसबाहेक उनको १० भाई–बहिनी थिए। पाँच बहिनीहरूमा उनको आम्दानी धेरै थियो। सानै उमेरमा सिनेमामा काम गर्न सुरु गरेका कारण स्कुलदेखि नै पढाई छुट्यो। उनलाई अंग्रेजी बोल्न निकै गाह्रो लाग्थ्यो।
मधुबालाकी सानी बहिनी मधुर भूषण (वास्तविक नाम जाहिदा) का अनुसार उनको दिदी जीवनभरी साँचो प्रेमका लागि तँडपिरहिन्। एक अन्तर्वार्तामा उनले भनेकी थिइन, ‘दिलिप कुमारले मात्र होइन, किशोर कुमारले पनि दिदीलाई धोका दिए।’
दिलिप कुमारसँगको उनको सम्बन्ध बुवा अताउल्लाह खानको कारण नभई बीआर चोपडाको फिल्म ‘नयाँ दौर’ का कारण बिग्रिएको थियो। यो फिल्मको सुटिङका लागि मधुबालालाई निर्देशकहरु ग्वालियर पठाउन चाहन्थे। ग्वालियर उबेला डकैतीका लागि कुख्यात थियो। यहाँ दिउँसै डाका लाग्थ्यो। त्यसैले बुवा यस्तो स्थानमा छोरीलाई सुटिङका लागि पठाउन चाहदैन्थे। यसै कारण उनले बीचैमा फिल्म छोड्नु प¥यो। उनले फिल्मका लागि लिएको पारिश्रमिक पनि फिर्ता गरेकी थिइन।
यतिबेला दिलिपको बिहेको कुरा चलिसकेको थियो, मधुबालासँग। मधुबालालाई फकाउन बीआरले दिलिपलाई घर नपठाएका होइनन्। दिलिपले मधुबालालाई धेरै सम्झाए पनि। तर, उनले बुवाको निर्णयविरूद्ध आफू जान नसक्ने भन्दै दिलिपको अनुरोध मान्न अस्विकार गरिन्।
यो घटनामा चोपडा प्रोडक्सनले मधुबालाविरूद्ध मुद्धा पनि दर्ता ग¥यो, जुन एक वर्ष चल्यो। यसैबीच दुवैको सम्बन्ध बिग्रिन थाल्यो। दिलिपले उनलाई फिल्मबाट सन्यास लिँदै आफूसँग बिहे गर्ने प्रस्ताव राखे। मधुबालाले आफ्नो बुवासँग माफि माग्न दिलिपसँग प्रस्ताव राखिन्। दिलिपले अस्विकार गरे। यसपछि दुवैको सम्बन्ध समाप्त भयो। दिलिपको एउटा माफीले दुवैको जिन्दगी परिवर्तन हुनसक्थ्यो। मधुबालाले जीवनको अन्तिम समयसम्म दिलिप कुमारसँग प्रेम गरिन्।
मधुबाला एक पल्ट निकै बिरामी भइन। उपचारका लागि लन्डन लग्ने कुरा उठ्यो। यो त्यतिबेला भएको थियो, जब किशोर कुमारले बिहेका लागि मधुबालासँग प्रस्ताव राखेका थिए। मधुबालाका बुवा चिकित्सकको सल्लाहपछि मात्र बिहेको कुरा अगाडी बढाउन चाहन्थे। तर, दिलिप कुमारको व्यवहारले आँगो भएकी मधुबालाले किशोरसँग तुरुन्त बिहे गर्ने निर्णय गरिन्। २७ वर्षको उमेरमा १९६० मा मधुबाला र किशोर कुमारको बिहे भयो।
बिहेपछि उपचारका क्रममा चिकित्सकले भने, ‘उनी धेरै दिन बाँच्न सक्दिनन्।’ यो सुनेपछि किशोर कुमारले मुम्बईको कार्टर रोडमा एउटा घर किनेर उनलाई नर्स र ड्राइभरसँगै एक्लै छोडिदिएका थिए।
उनी प्रत्येक चार महिनामा एक पल्ट भेट्न आउँथे। मृत्युभन्दा अगाडि किशोरले मधुबालाको फोनसमेत उठाउन छोडिसकेका थिए। मधुबाला लन्डनमा उपचार गरेर भारत फर्किसकेपछि किशोरको व्यवहारमा परिवर्तन आएको थियो। उनी इमान्दार पति बन्न सकेनन्।
मधुबाला कुनैबेला बलिउडको सबैभन्दा आकर्षक हिराइन मानिन्थिन्। उनलाई भेट्नेको ताती लाग्थ्यो। तर, बिरामीपछि उनलाई भेट्न कोही जाँदैन्थ्यो। ३६ वर्षको उमेरमा उनी यो धर्ती छोड्न विवश भइन्।